२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तिहार नजिकिएसँगै ढकमक्क फुल्यो फूल



एक रोपनी जग्गामा मखमलीका पाँच हजार माला उन्न सकिने र एउटा मालाको यसवर्ष रु २५ मा बिक्री हुँदा पनि एक लाखको कारोबार हुने छ
भक्तपुर
२ कात्तिक । भक्तपुरका गाउँगाउँमा ढकमक्क फूल फुलेका छन् । व्यावसायिक रूपमा गरिएको सयपत्री र मखमली फूल फुलेर ढकमक्क हुँदा गाउँ यहाँका फाँटहरू राताम्मे देखिएका छन् भने यसले नजिकिँदो तिहारको झल्को दिइरहेको छ ।
व्यावसायिक फूलखेती गरिएको भक्तपुरका बस्तीमात्रै हैन, अधिकांश गाउँघर एवं टोलटोलका आँगनमा समेत मखमली र सयपत्री फूल लहरै झुलेका छन् । तिहार नजिकिँदै गरेपछि व्यावसायिक फूलखेती गर्नेलाई भने यतिखेर फूल टिपेर माला उन्न र व्यवस्थापन गर्न भ्याइनभ्याइ छ ।
काठमाडौँ उपत्यकामै सबैभन्दा बढी व्यावसायिक फूलखेती गर्ने सूर्यविनायक नगरपालिका–७ गुण्डुका घरघर, टोलटोल यतिखेर राताम्मे बनेका छन् भने फूल टिप्न र माला गाँसेर बजार पु¥याउनसमेत भ्याइनभ्याइ हुन थालेको छ ।
मखमली र सयपत्री फूलखेतीबाट राम्रो आम्दानी हुने भएपछि अधिकांश किसानमात्रै होइन फूलखेती गर्नकै लागि जग्गा भाडामा लिएर यहाँ बस्ती सरेर आउनेहरू पनि उत्तिकै रहेका सूर्यविनायक नगरपालिका नगरपालिका–७ गुण्डुका वडाध्यक्ष रवीन्द्र सापकोटा बताउछन् ।
नगरपालिकाले केही वर्षयता स्थानीयलाई व्यावसायिक फूलखेती गर्न ७० प्रतिशत अनुदानमा बीउसमेत वितरण गर्दै आएको उहाँले जानकारी दिएका छन् । “यस वर्ष मात्रै सयपत्रीका ५५ हजार बिरुवा वितरण गरेका थियौँ । राम्रो आम्दानी हुने भएपछि धान खेतदेखि मकैबारी, भिरालो जमिन, खेतको आली तथा डिलमा फूल लगाउने प्रचलन बढ्दैछ । हाल जताततै फूलले ढकमक्क बनेको देखिन्छ । एकैपटक दोहोरो आम्दानी हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो”, नगरपालिकाका प्रवक्ता सापकोटाले भने ।
स्थानीय कृषक मीना नगरकोटी जेठमा रोपेको मखमली फूल भदौदेखि कात्तिकसम्म टिप्न सकिने र फूल सप्रेमा एक सिजनमा एक रोपनी जग्गाको उत्पादनबाट रु एक लाखसम्म आम्दानी गर्न सकिने बताउछन् ।स्थानीय फूल उत्पादक कृषक एवं पुष्प व्यवसायी अनिता बस्नेतले यतिखेर किसानलाई फूल टिप्न भ्याइनभ्याइ भएको बताए । “एक रोपनी जग्गामा मखमलीका पाँच हजार माला उन्न सकिने र एउटा मालाको यसवर्ष रु २५ मा बिक्री हुँदा पनि एक लाखको कारोबार हुने छ”, उनले भने,“मखमली फूल र माला लिन गाउँमै व्यापारी आउने गरेपछि किसानलाई सजिलो भएको छ ।”
सयपत्री फूल एक मुठाको रु १० देखि १५ मा बिक्री हुने गरेको छ भने तिहारमा चारपाथी अट्ने ढ्वाङमा हालेर एक ढ्वाङको रु छ सयमा बिक्री हँुदै आएको व्यवसायीले बताएका छन् । भक्तपुरमा गुण्डु, सिपाडोल, चित्तपोल, ताँथली, सुँडाल, वागेश्वरीलगायत ठाउँमा अहिले व्यावसायिक फूलखेती भइरहेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ८ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।