८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ऐतिहासिक भृङ्गेश्वर महादेवको मन्दिरको पुराना दस्तावेज नभटिएन, अनुमानको आधारमा पुरानै ढाँचामा निर्माण हुँदै



हामीले फोटो र चित्र पुरातत्व विभागसँग समन्वय गरेर धेरै ठाँउमा खोज्यो तर भेट्न सकेनौं

ललितखबर
८ कार्तिक । पुराना दस्तावेज नभेटिए पनि ललितपुर सुनाकोठीमा रहेको ऐतिहासिक भृङ्गेश्वर महादेवको मन्दिर अनुमानको आधारमा पुरानो ढाँचामा पुर्ननिर्माण हुने भएको छ ।
मन्दिर पुर्ननिर्माणका लागि डिपिआर बनेको छ भने सहयोग संकलन र शुभारम्भअघि गरिने महायज्ञ प्रारम्भ गरिएको छ ।
२०९० सालको भुकम्पले भत्काएको यस मन्दिर तत्कालीन समय कामचलाउ रुपमा गुम्बुज शैलीमा निर्माण गरेको ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन बताउछन् । तत्कालीन समयको पेगोडा शैलीको मन्दिरको टुडाल र काठपात मन्दिर परिसरमा राखिएको छ ।


भृङ्गेश्वर मन्दिर पशुपतिनाथ मन्दिरभन्दा पनि पहिले नै निर्माण भएको स्थानीयबासी अनुमान लगाउछन् । मन्दिर गोपाल बंशको पालामा निर्माण भएको दस्तावेजमा उल्येख भएको ललितपुर महानगरका वडाध्यक्ष कृष्णहरि महर्जन बताउछन् ।
वडाध्यक्ष महर्जनका अनुसार पुरानो मन्दिरको टुडाल,काठपातर पातालगायतका सरसामाग्री र अनुमानको आधारमा नयाँ मन्दिर बनाउन लागिएको हो । उनी भन्छन्, ‘ऐतिहासिक मन्दिर परिसरमा विभिन्न ठाँउमा उस्तै मन्दिर नजिकै बनाइएको हुन्छ । यहाँ जगन्नाथको मन्दिर पुरानै ढाचामा बनाइएको छ । यिनै ऐतिहासिक आधार लिएर मन्दिर पुर्ननिर्माण हुन्छ ।’

 

तर पनि सुनाकोठीबाट मात्रै दुई करोडभन्दा धेरै रकम संकलन हुने अनुमान गरिएको छ

वडाध्यक्ष महर्जन मन्दिरको तस्विर र चित्रलगायतका पुराना प्रमाण खोजी गरे पनि नभेटिएको बताउछन् । भन्छन्, ‘हामीले फोटो र चित्र पुरातत्व विभागसँग समन्वय गरेर धेरै ठाँउमा खोज्यो तर भेट्न सकेनौं ।’
भुकम्पले भत्काएको मन्दिरको दुई वटा टुडाल भित्तामा राखिएको छ । पातालगायत काठपातहरु एक स्थानीयको जिम्मामा राखिएको छ ।


वडाध्यक्ष महर्जन चन्दा संकलनका लागि नभई शुभ कार्य प्रारम्भअघि यज्ञ गर्ने परम्परा अनुसार महायज्ञ सुरु गरिएको बताउछन् । भन्छन्, ‘तर पनि सुनाकोठीबाट मात्रै दुई करोडभन्दा धेरै रकम संकलन हुने अनुमान गरिएको छ ।’
पाँच बर्ष अघि स्थानीय र सरोकारवालाहरु पुरातत्व विभागलाई पुरानै ढाचामा मन्दिर पुर्ननिर्माणका लागि अनुरोध गरे पनि बजेट अभावले पुर्ननिर्माण गर्न सम्भव नभएको उत्तर पाएपछि फर्केका थिए ।

 

सप्ताह महायज्ञमार्फत जनसहभागिताको हिसावमा सहयोग रकम संकलन गरिनेछ । छिमेकी नगरपालिकाहरुले पनि सहयोग गर्ने प्रतिबद्धता आएको छ । सहृदयी, उद्यगी व्यावसायीहरुले पनि पक्कै सहयोग गर्नेछन्

केही बर्षअघि सुनाकोठीका तत्कालीन थकाली अर्जुन महर्जनले २०९० सालको भुकम्पले भत्काएपछि आफूहरुले मन्दिर पुर्ननिर्माण गरिएको अनुभव सुनाएको अध्यक्ष महर्जनले बताए ।
भृङ्गेश्वर महादेव सप्ताह महायज्ञ समितीका अध्यक्ष रामचन्द्र महर्जनका अनुसार भुकम्पले भत्काएपछि जम्मा पारेर राखिएको काठमा विभिन्न बुट्टा, टुडाल र पाताहरुको आधारमा मन्दिरलाई पुरानो शैलीमा बनाउन डिपिआरमा समेटिएको बताउछन् ।
मेयर महर्जन मन्दिर पुर्ननिर्माणका लागि महानगरले नेतृत्व दिने बताए । भने, ‘सप्ताह महायज्ञमार्फत जनसहभागिताको हिसावमा सहयोग रकम संकलन गरिनेछ । छिमेकी नगरपालिकाहरुले पनि सहयोग गर्ने प्रतिबद्धता आएको छ । सहृदयी, उद्यगी व्यावसायीहरुले पनि पक्कै सहयोग गर्नेछन् ।’
मन्दिरको डिपिआर ललितपुर महानगरले बनाएको हो ।
मन्दिरमा पशुपति नाथ मन्दिरमा जस्तै भट्ट परिवार पुजारी रहने परम्परा रहेको छ । पुस्तौ अघिदेखि सुनाकोठी आएर बसेका भट्ट परिवारका सदस्य रवि भट्ट अहिले मन्दिरको पुजारी छन् ।

 

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ११ : १७ बजे