८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


रवि लामिछाने र छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति



८ कात्तिक । रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतले रविसहित छविलाल जोशी र लिला पछाई‌ंलाई पनि थप ७ दिन म्याद थप्न अनुमति दिएको हो ।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनीहरूलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । सूर्यदर्शन सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि प्रहरीले उनीहरूलाई काठमाडौँबाट पक्राउ गरेर पोखरा लगेको थियो ।

सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति लामिछाने र पूर्व डीआईजी जोशीलाई कास्की जिल्ला अदालतमा आज उपस्थित गराइएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया मार्फत अपचलन गरेको भन्दै गोर्खा मिडिया प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशी सहित १८ व्यक्ति र संस्था विरुद्ध किटानी जाहेरी परेको थियो ।

गोर्खा मिडिया मार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छवि विरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ ।

पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले त्यसलाई राजनीतिक प्रतिशोध भनेको छ र सिंगो पार्टी पंक्ति पोखरा उतारेर विरोध प्रदर्शन गरिरहेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ३ : ४३ बजे