११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


चलचित्र ‘सानो संसार’ समिक्षा : सानो परिवारको चोटिलो कथाव्यथा अनि सुन्दर प्रस्तुती



ललितखबर
कार्तिक ११ । दुई छोरी अनि वावुआमा । छोरा लक्ष्मण अमेरिकातिर वेपत्ता छ । गल्लीमा कपडा पसल थापेर परिवार पाल्ने लिलाबहादुर खड्काको यो परिवारकी कान्छी छोरी साराको अमेरिका जाने रहर छ । जेठी छोरी सुजाताको देशमै केही गर्ने सपना छ ।
यो काठमाडौंको एउटा कुनामा भाडामा बस्ने परिवारको सानो संसार होे ।
निम्न मध्यम बर्गीय परिवारले झल्नु परेको आर्थिक अभाव र जनजीवनमा आधारित चलचित्र सानो संसार शुक्रबारबाट देशभरका चलचित्र भवनहरुमा प्रर्दशन सुरु भएको छ ।

सबल पक्ष
निर्देशक तथा लेखक सिद्धार्थ पुडासैनीले चलचित्रको सामान्य कथालाई चोटिलो ढंगले प्रस्तुत गरेका छन् । उनको कथाका पात्रहरुलाई गज्जवले चरित्र चित्रण गरेका छन् ।
चलचित्रमा गुण्डा र हिरोको फाइट छैन । डरलाग्दो लडाई मारकार छैन । हिरो र हिरोएनको रोमान्स छैन । हाम्रै समाजको वरपर देखिने सामान्य जीवन भोगाई छ । मर्मस्पर्शी बोलीचालीको भाषा छ ।
चलचित्रका लागि कुनै तामझाम गरेर सेट बनाइएको छैन । राजधानीको टोखावरपरका पुराना गल्लीमा भौतारिरहेको सानो परिवारको कथाव्यथा देखाइएको छ ।


कलाकारले संवाद होइन, जीवनको भोगाई बोलिरहेका छन् । कलाकारको संवादमा कहिले हाँसोको पर्रा फुट्छ त कहिले अनायसै आँशु झर्छ ।
चलचित्रले आम नेपालीको जीवन बोलेको छ । शहरिया रमझममा अभावका बीच बाँच्नुपर्ने दबाबलाई प्रष्ट रुपमा देखाइएको छ । चलचित्रले हाँस्दा हाँस्दै रुवाउँछ, रुदा रुदै हसाउँछ ।
चलचित्रमा भद्दा, द्वअर्थी र अश्लील संवाद छैन । यसले समाजलाई भाँड्दैन । सरल ढंगले समाजलाई आफ्नै माटोमा बाँच्न सिकाउने कथा छ ।
चलचित्रको कथा सलल बगेको छ । अनावश्यक र दिक्क लाग्ने दृश्य छैनन । निम्नमध्यम बर्गीय समाजको पात्रहरु टपक्क दिपेर चलचित्रमा राखिएको छ । निर्देशक पुडासैनीको दृश्यमार्फत कथा भन्ने शैली नौलो लाग्छ । सरल कथ्यशैली निर्देशक पुडासैनीले पर्दामा उतारेर देखाएका छन् ।
चलचित्रको शसक्त पक्ष शिशिर पुडासैनीको कथाबस्तु रहेको छ । निर्देशक समेत रहेका पुडासैनीले हरेक पात्रलाई फरक चरित्रले सुसज्जित बनाएका छन । चलचित्रको गीत ‘मगमग फुलबारी’को अन्तमा प्रयोग गरिएको छ । गीत प्रमोसनका लागि मात्रै बनाइएको बुझन् सकिन्छ ।
र्दुबल पक्ष
चलचित्रभित्र कतिपय दृष्य अपत्यारिलो लाग्छ । सुहागरात छोडेर वावु भेट्न अस्पताल पुगेकी छोरीलाई चड्कन हान्नु र एउटा भिडियोको फुटेज हेरेर वावुको मायाँ पलाउनु, अचानक छोरा अमेरिकाबाट आएर अंगालो हाल्नुजस्ता दृश्यलाई निर्देशक सिद्धार्थ पुडासैनीले नाटकिय बनाएका छन् । चलचित्रका कतिपय दृश्य चलचित्र जात्रा र पशुपतिप्रसादबाट प्रभावित बनेको बुझ्न कठीन पर्दैन ।
चलचित्रमा संगीत पक्ष कमजोर छ । द्वन्द्व र हास्य विधालाई महत्व दिइएको छैन ।
ठाँउ ठाँउमा दृश्यहरु सिनेमेट्रोग्राफर सुज्जन खड्काले गिम्बलबिनै खिचेको अनुभव हुने गरि हल्लाएका छन् । कतिपय दृश्यमा फ्रेम मिलेको छैन । पार्श संगीत पनि ठाँउ ठाँउमा ठूलो (लाउड) सुनिन्छ । चलचित्रको दृश्यभाषा पनि कमजोर छ । चर्को संवादले कतिपय ठाँउमा झर्को लाग्छ । झगडै झगडाकोबाट सुरु भएको चलचित्र झगडाकैबीच सकिन्छ । चलचित्रभित्र द्वन्द्व पात्रको चरित्रले निम्त्याएको छ । ठाँउ ठाँउमा झगडाको दृश्य झर्कोलाग्दो छ ।
चरित्र चित्रण
सितादेवि श्रीमानलाई औधि मायाँ गर्छिन् । श्रीमानलाई कसैले नराम्रो भनेको उनी सहन सक्दिनन् । श्रीमान् लिलाबहादुर खड्का साह्रै सोझो, छोराछोरीको सधै चिन्ता गर्ने एउटा असल बाबु । कसैले केही भने चित्त दुखाई हाल्ने उनको बानी छ । छोरी अन्जसा रिजाल(सारा) छोरी अमेरिका जाने सपना देखेकी युवती । जो वावु आमालाई घर बनाई दिन चाहन्छे । सुख दिन चाहन्छे । चलचित्रमा फुपुको भूमिका निभाएकी (सरिता भण्डारी)को छुच्चु अनि घर भडुला चरित्र पनि हेर्नलायक छ ।
जेठी छोरी सुजाता सबै घर खर्च टार्छे । दुःख गर्छे तर आफ्नो स्वभिमानले बाँच्न चाहन्छे । समाजमा रहेका धेरै मान्छेहरुसँग ठ्याक्कै मिल्ले आनीबानी बोकेका यी पात्रको चरित्र चित्रणले चलचित्रलाई राम्रो बनाउन सघाएको छ । हाम्रै वरिपरि यत्रयत्र छरिएर रहेका चरित्रलाई टपक्क टिपेर निर्देशकले देखाएका छन् । उनको यो खुबी लोभलाग्दो छ ।

सितादेवि तिमल्सिना
सितादेविको अभिनयमा कृतिमता भेटिन्न । उनले शहरिया गृहणीको समस्यालाई राम्रोसँग चरित्र चित्रण गरेकी छिन् । तिमल्सिना व्यावहारिक जीवनलाई सजीव ढंगले पर्दामा देखाउन सफल छिन् । उनको अभिनयमा तनाव,थकान, पिर र चिन्ता मिसिएको छ । चर्को स्वरले संवादलाई ठाँउ ठाँउमा झर्कोलाग्दो सुनिए पनि चरित्रको चित्रणको दृष्टिकोणबाट सामान्य रुपमा लिन सकिने ठाँउ छ ।
सितादेलिले संवाद बोल्ने क्रममा ठाँउ ठाँउमा खड्किन्छ । संवादवाचनलाई सुधार गर्नु पर्ने ठाँउ पनि देखिएको छ ।


अन्जसा रिजाल(सारा)
चुलबुले कान्छी छोरीको भूमिकामा अन्जसा रिजालले आफूलाई राम्रो कलाकारको रुपमा प्रमाणित गरेकी छिन् । परिवारलाई सुख दिने छोरीहरुको सपनालाई चलचित्रमा प्रतिनिधित्व गरेको अनुभव हुन्छ । उनले अभिनयमार्फत ठाँउ ठाँउमा रुवाउछिन् । विदेश जाने सपना आमनेपालीको सपनालाई उनले सजीव ढंगले अभिनयकला मार्फत देखाएकी छिन् ।


अनु दाहाल
अनु दाहालको अभिनय हेर्दा उनले संवाद घोकेर बोलेको अनुभव हुँदैन । उनले एउटा घमण्डी छोरीको भूमिका यतार्थपरक ढंगले निभाएकी छिन् ।
उनको अभिनय हेर्दा ठूलो पर्दामा डेव्यु गरेकी कलाकार हो जस्तो नै लाग्दैन । उनले वावुआमाले हामी र छोराछोरी भन्दै विभेदको आँखाबाट हेरेको दृष्टिकोणलाई चलचित्रमा प्रष्ट रुपमा देखाउन सकेकी छिन् ।


राज पंगेनी
एउटा जिम्मेवारी बोकेको बाबु परिवारको हेला र समाजको साथविना कसरी एक्लो महसुस गर्छ भन्ने अनुभव देखाउन कलाकार पंगेनीको प्रयास राम्रो छ । उनको संवादविहीन अभिनयले दर्शकको मन छुन्छ । परिवारका लागि संर्घषरत वावुको पिडालाई चलचित्रमा जस्ताको तस्तै देखाइएको छ ।

शिशिर सिवाकोटी
चलचित्रमा शिशिर जमेका छन् । सामान्य पात्र र चरित्र चित्रणलाई उनले सहज रुपमा डोहो¥याएका छन् । तुलनात्मक रुपमा उनले संवाद र चरित्र निर्माणमा थप मेहनत गरेको भए झन् राम्रो हुन्थ्यो ।
सरिता भण्डारी
फुपु पात्र सरिता भण्डारीले चलचित्रमा चर्चा योग्य अभिनय गरेकी छिन् । उनले छुच्ची, घर भड्ने र झगडालु चरित्रमार्फत समाजको यतार्थ पर्दाफास गरेकी छिन् । उनको अभिनयको क्रममा हलमा सिठ्ठी र होहल्ला गर्दै समर्थन गर्नेहरुको सुन्न पाइन्छ ।
अन्तमा,
चलचित्र समाजको ऐना हो । मन मुटुमा छुने चलचित्र नै सधै चर्चामा रहन्छन् । आजको मानिसको जीवन र भोगाईसँग जोडिएको फरक स्वादका चलचित्रको रुपमा सानो संसार यो चलचित्रलाई लिन सकिन्छ ।
पछिल्लो पुस्ताको पिडा बोल्ने सानो संसार एउटा उत्कृष्ट चलचित्रको रुपमा हल हलमा चलिरहेको छ । चलचित्रमा सानो परिवारको चोटिलो कथाव्यथा छ । चलचित्रको पर्दामा निर्देशकले ती कथाव्यथालाई सुन्दर ढंगले प्रस्तुत गर्न सफल छन् ।

सानो बजेट, नयाँ कलाकार र नयाँ सोचका साथ समाज परिवर्तनका लागि योगदान दिने यस्ता चलचित्र बन्न प्रोत्साहन हुनु जरुरी छ ।

 

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  १० : १५ बजे