निजले अन्तर्वार्ताका क्रममा भनेको कुनै पनि कुरो मेल खाँदैन । घटनाको समयमा निज व्यक्ति कञ्चनपुरमा पनि थिएनन्
काठमाडौँ
२८ कात्तिक । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
गोरखा घर भई हाल काठमाडौँ बस्ने नवराज अर्याललाई नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।
एक टेलिभिजनमा अन्तर्वार्ताका क्रममा पन्तको हत्या भएको घटनाको आफू प्रत्यक्षदर्शी भएको र उक्त घटनामा संलग्नको नाम दिन सक्ने भन्दै अन्तर्वार्ता दिएका थिए ।
प्रहरी उपरीक्षक बोगटीले भने, “निजले अन्तर्वार्ताका क्रममा भनेको कुनै पनि कुरो मेल खाँदैन । घटनाको समयमा निज व्यक्ति कञ्चनपुरमा पनि थिएनन् । तर किन र कस्को उक्साहटमा उनले त्यो कुरो बोले हामी अनुसन्धानसहित छानबिन गर्दैछौँ ।” विसं २०७५ साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।
प्रतिक्रिया