३ मंसिर । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली प्रकट गरेका छन् । यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूले पनि ढुंगानाको पार्थिव शरीरमा श्रद्धाञ्जली अपर्ण गरेका छन् ।
श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री ओलीले ढुुङ्गाना नेपालको लोकतान्त्रिक प्रणालीमा बेग्लै प्रभाव छोड्न सफल, अत्यन्त मिलनसार, मृदुुभाषी, सरल र अशल मान्छे हुुनाका साथै सबैका कुुरा सुन्ने व्यक्तित्व भएको बताए ।
सरकारले राजकीय सम्मानका साथ पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरेको छ । सरकारले उनको सम्मानमा आज सार्वजनिक बिदा पनि दिएको छ ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार निधन भएको थियो ।
श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा ढुंगानाको पर्थिव शरीर राखिएको छ ।
सानोगौचरणमा श्रद्धाञ्जलीपछि उनको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने छ ।
प्रतिक्रिया