९ माघ २०८१, बुधबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


रसुवागढी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणलाइनमा जोडियो



६ मंसिर । १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा निर्मित आयोजनाका ३७/३७ मेगावाटका तीन युनिटमध्ये एउटाबाट बुधबारदेखि परीक्षणका रूपमा विद्युत् उत्पादन थालिएको छ ।

आयोजनाबाट बुधबार परीक्षणका रूपमा ४.२ मेगावाट विद्युत् उत्पादन गरिएको थियो । परीक्षण सफल भएपछि अब क्रमशः बिजुली उत्पादन बढाउँदै लगिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

सबै युनिटबाट परीक्षण र तोकिएका मापदण्ड पूरा गरी करिब एक महिनाभित्रमा आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरिने आयोजनाको प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनीका प्रबन्ध–सञ्चालक छवि गैरेले बताए ।

रसुवागढीबाट उत्पादित बिजुली हिउँदयाममा काठमाडौं उपत्यकाको विद्युत् माग व्यवस्थापनका निम्ति सहज हुनेछ । सुक्खायाम सुरु भएसँगै भोटेकोसी नदीमा पानीको बहाव घट्न थालेकाले रसुवागढी आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने छैन । हिउँदयाममा आयोजनाबाट करिब ३७ मेगावाट मात्र विद्युत् उत्पादन हुने प्राधिकरणले जनाएको छ ।

निर्माण अवधिकको ब्याजबाहेक अनुमानित लागत १८ अर्ब ६९ करोड रुपैयाँ छ । निर्माण अवधिको ब्याज करिब ६ अर्ब रुपैयाँ पुग्ने अनुमान छ ।
आयोजनाबाट वार्षिक रूपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन हुनेछ । उक्त विद्युत् बिक्रीबाट कम्पनीलाई वार्षिक तीन अर्ब २५ करोड रुपैयाँ आम्दानी हुनेछ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  ३ : ०६ बजे