९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भटमासको दुधबाट बनेको चिया र सेइटानप्रति सर्वसाधारणको रुचि



पशुमाथि अत्याचार भइरहेको छ। यो ठीक छैन। यहाँका चित्र र कुरा सुनेपछि मेरो मन भारी भयो। म अब मासु खान्न होला

काठमाडौं
राजधानीमा आयोजित ‘नेपाल भिगन ग्यालरी’मा भटमासको दुधबाट बनेको चिया र सेइटान सर्वसाधारणले रुचि पूर्वक स्वाद दिएका छन् ।
झण्डै मासुजस्तै देखिने र खाँदा पनि उस्तै महसुस हुने सेइटान मासु छाड्न चाहनेहरूका लागि राम्रो विकल्प हो । भटमासको दुध पछिल्लो समय युरोप अमेरिकामा परम्परागत गाईको–दुधको विकल्पमा रूचाइएको छ।

विश्व भिगन महिनाको सन्दर्भमा काठमाडौँमा शनिवार कार्यक्रम आयोजना गरिएको थियो । पशुजन्य भोजन र उत्पादन प्रयोग नगर्ने व्यक्ति र जीवनशैलीलाई भिगन भनिन्छ। भिगनहरू मासुमात्र होइन, दहीदुध घिउ र पनिरसमेत खाँदैनन्।

वातावरण, स्वास्थ्य र पशुप्रति दयाका कारण युवामाझ भिगन जीवनशैली बढ्दो छ। काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरमा आयोजत सो कार्यक्रम ’काठमाडौँ एनिमल सेभ’ले आयोजना गरेको थियो ।
पशुहिंसा रोक्न आह्वान गरिएका चित्रहरू तथा भिगन फुडस्टल र सांगितिक प्रस्तुती शनिवार आयोजित कार्यक्रममा मुख्य आकर्षण थिए।

कार्यक्रममा भिगन व्यवसाय र जनावर अधिकारबारे प्यानल डिस्कसनसमेत रहेको थियो। जसमा भिगन कल्याण सिलवाल, सामु योन्जन र अनिश तुलाधरले आफ्ना धारणा राख्दै सहभागी तथा सर्वसाधारणले राखेका प्रश्नको उत्तर दिएका थिए।

 

पशु व्यवसायमा जनावरमाथि हुने अन्याय र अपराधका कारण नयाँ पुस्ताहरू भिगन जीवनशैली अपनाउन थालेका छन्। खासगरी नयाँ पुस्ताले प्रेरणा पाउन् भनेर नै यो कार्यक्रम गरिएको हो

योन्जनले आफूहरूले कमाउने भन्दा पनि पुण्य कमाउने ध्येयले भिगन खानाको व्यवसाय गरेको बताइन्। सिलवाले खाना र स्वादमा अझै निखार ल्याउन सक्दा भिगन खानाप्रति मान्छेको रूची झनै बढ्ने बताए। तुलाधरले आफूले खानाको व्यवसायलाई जीवनशैलीसँग जोडेको बताउँदै विशुद्ध अहिंसा र सेवाभावले संचालन गरेको बताए।

कार्यक्रममा पूर्व तुम्बाको ’लब्रेकुटीमा शाकाहारी कुकुर’ कविता संग्रह र घनश्याम खड्काको सेल्फहेल्प पुस्तक ’आनन्द संहिता’ वाचन कार्यक्रम पनि थियो।

प्रतिक्रिया दिँदै काठमाडौँ एनिमल सेभकी शोभा भुजेलले गत सालभन्दा यो कार्यक्रम बढी प्रभावकारी भएको बताइन्। ’पशु व्यवसायमा जनावरमाथि हुने अन्याय र अपराधका कारण नयाँ पुस्ताहरू भिगन जीवनशैली अपनाउन थालेका छन्। खासगरी नयाँ पुस्ताले प्रेरणा पाउन् भनेर नै यो कार्यक्रम गरिएको हो।’

विशुद्ध शाकाहारी भोजन र अहिंसाको प्रवर्द्धनको लागि कार्यक्रममा ’ओम्निभोर’ जीवन अपनाउनेहरूले पनि चाख दिएर अवलोकन गरेका थिए। तिनैमध्ये काठमाडौँ कोटेश्वरकी सुस्मिता लामाले भनिन्, “पशुमाथि अत्याचार भइरहेको छ। यो ठीक छैन। यहाँका चित्र र कुरा सुनेपछि मेरो मन भारी भयो। म अब मासु खान्न होला।“

काठमाडौँ एनिमल सेभले वर्षैभरी विभिन्न कार्यक्रम गर्दै पशुअधिकार, अहिसा र भिगन जीवनशैलीको प्रवर्द्धन गर्ने गरेको छ।

 

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ८ : ५९ बजे