११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरका व्यावसायी फुटपाथ हटाउन माग गर्दै सडकमा



चापागाँउ, ललितपुर
फुटपाथ हटाउन माग गर्दै ललितपुरका व्यावसायी सडकमा आएका छन् ।
मंगलबार ललितपुर तयारी पोशाक संघसम्बद्ध व्यापारीले प्रर्दशन गर्दै सडकमा पार्किङ रोक्न र फुटपाथ व्यापार हटाउन माग गर्दै ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनलाई ज्ञापन पत्र बुझाएका छन् ।
ललितपुरको लगनखेल–मंगलबजार र मंगलबजार–ग्वार्को सडकलगायत स्थानमा फुटपाथ व्यापार मौलाएको भन्दै यहाँका व्यापारी प्रर्दशन सुरु गरेका हुन् ।
फुटपाथ व्यापारका कारण सडकमा हिड्न सर्वसाधारणलाई अप्ठ्यारो परेको र लगनखेल र मंगलबजारमा सबै सडक ढाक्ने गरेर फुटपाथ व्यापार सञ्चालन हुँदा समेत नगरप्रहरी मुकदर्शक बनेर टुलुटुलु हेरेर बसेको भन्दै व्यापारीहरुले आक्रोस पोखेका हुन् ।
महानगरपालिकाले फुटपाथका व्यापारीलाई संरक्षण गरेपछि ललितपुर तयारी पोशाक संघसम्बद्ध व्यावसायी रुष्ट बनेका छन् ।
घरबहाल कर घरबेटीले तिर्नुपर्नेमा महानगरले स्प्रष्ट कानूनी प्रबन्ध नगरेका कारण व्यवस्था व्यापारीले तिर्नु परेको उनीहरुको भनाई छ ।

स्थानीय व्यापारीहरूको समस्या समाधानको निमित्त ललितपुर तयारी पोसाक व्यापार सङ्घको ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझ्दै आज मेयर महर्जनले आफूहरू शासक नभई जनताको सेवक भएको दाबी गरे ।

“स्थानीयवासी र व्यवसायीसँग हातेमालो गरेर अगाडि बढ्छौँ, तपाईंहरूको मागलाई हामी सम्बोधन गर्छौं, यो ज्ञापनपत्र बोर्ड बैठकमा पेस गर्छाैं र कार्यान्वयनमा नीतिगत व्यवस्था गरेर अगाडि बढ्छौँ,” मेयर महर्जनले भने ।

ललितपुर तयारी पोसाक व्यापार सङ्घका संस्थापक अध्यक्ष तथा ललितपुर चेम्बर आफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले पछिल्लो समयमा व्यापार घट्दो अवस्थामा रहेको बताउँदै अव्यवस्थित फुटपाथ बजारलाई हटाइ भाडामा बस्ने व्यवसायीलाई संरक्षण गरिनुपर्ने बताए । उनले सटर भाडामा लिएर व्यवसाय गर्ने व्यवसायीलाई सहजरूपमा व्यवसाय गरी आम्दानी गरेर कर तिर्ने वातावरण तयार गर्न महानगरलाई आग्रह गरे ।

काठमाडौं महानगरले फुटपाथ व्यापारमा प्रतिबन्ध लगाएपछि ललितपुर आएर व्यापारीहरु सडकमा पसल राखेको स्थानीय व्यावसायीहरु ब्ताउछन् । महानगरले पार्किङ व्यवस्थित नगर्दा ललितपुर सडक अस्तव्यस्त छ । ललितपुर महानगरले सडकअगाडि घर निर्माण गर्दा अण्डर ग्राउण्ड पार्किङ नराखी नक्सा पास गरिदिने गरेको कारण यो समस्या आएको हो ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ११ : ५७ बजे