१८ मंसिर । टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा आज (मंगलबार) समझदारी पत्रमा हस्ताक्षर गरी आदानप्रदान गरिएको हो ।
त्यस्तै विभिन्न विकास योजनासम्बन्धी समझदारी पत्रमा समेत हस्ताक्षर भएको छ । यसअघि २०७६ मा असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला टोखा–छहरे सुरुङ निर्माणको प्रस्ताव राखिएको थियो । राष्ट्रपति सीले सुरुङमार्ग निर्माणमा सहयोग गर्ने सकारात्मक प्रतिक्रिया दिएका थिए ।
सोही अनुसार २०७६ पुसमा चिनियाँ टोलीले सुरुङमार्गको अध्ययनका लागि नेपाल आएको थियो । काठमाडौंलाई उत्तरी नाका रसुवागढी जोड्ने छोटो दूरीको रूपमा टोखा–छहरे सुरुङमार्गलाई लिइएको छ । यसको कुल लम्बाई करिब चार किलोमिटर हुने अनुमान छ ।
सरकारले गत आर्थिक वर्ष काठमाडौंको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङमार्ग अघि बढाउने घोषणा गरे पनि प्रगति हुन नसकिरहँदा अहिले भएको समझदारीले निर्माण अघि बढ्ने आशा गरिएको छ । गत आर्थिक वर्ष सरकारले १ अर्ब रुपैयाँ बजेट विस्तृत आयोजना प्रतिवेदन र वातावरणीय प्रभाव अध्ययन गर्न बजेट छुट्याए पनि काम अघि बढ्न सकेको थिएन ।
प्रतिक्रिया