१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


रवि र छविसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी



१९ मंसिर । पर्साको सानापाइला सहकारी ठगीको आरोपमा रवि लामिछाने र छविलाल बन्जाडे जोशीसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ।
साना पाइला सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा उनीहरुविरुद्ध अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पर्साले अदालतबाट पक्राउको अनुमति लिएको हो।

जिवि भन्ने गितेन्द्रबाबु राई र यी तीनजनासमेतको संलग्नतामा ठगी भएको यो पाँचौँ सहकारी हो। यसअघि बुटवलको सुप्रिम, पोखराको सूर्यदर्शन, काठमाडौँको स्वर्णलक्ष्मी र चितवनको सहारा सहकारीको ठगी आरोपमा पनि अनुसन्धान भइरहेको छ।

लामिछानेलाई अहिले चितवन लगेर प्रहरीले बयान लिइरहेको छ। यसअघि उनलाई र छविलाई बुटवल, पोखरा र काठमाडौँमा सहकारी ठगीको आरोपमा बयान लिइएको थियो।
पोखरा, बुटवल र चितवनमा पुरक जाहेरीपछि अनुसन्धान भइरहेको हो। यस्तै काठमाडौँमा पनि अनुसन्धान चलिरहेको छ। अब पर्सामा पनि दोस्रो चरणको अनुसन्धान अगाडी बढ्ने भएको हो। जिबिविरुद्ध यसअघि नै मुद्दा दर्ता भएर उनी फरार छन्।

तर यसअघिको अभियोग पत्रमा यी दुईजनासहित छुटेका १४ जनाविरुद्ध अनुसन्धान गर्न लागेको हो। सहकारी ठगी सम्बन्धी छानबिन गर्न गठित समितिले उनीहरुको नाम तोकेरै कानुनी दायरामा ल्याउन सिफारिस गरेको थियो।

समितिको प्रतिवेदन कार्यन्वयन गर्न गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा प्रहरी प्रधान कार्यालय हुँदै पठाएको थियो। सोही प्रतिवेदनका आधारमा पर्सामा पनि दोस्रो चरणको अनुसन्धान हुन लागेको हो।

पर्सामा पक्राउ पुर्जी जारी भए पनि यही साता भने नलगिने भएको छ। आगामी आइतबार उनलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा लैजानुपर्छ।

यसअघि अदालतले दिएको म्याद सकिँदैछ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ६ : २७ बजे