२० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋण सम्बन्धी कुनै पनि सम्झौता नभएको स्पष्ट पारेका छन्। बिहीबार चार दिने औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भ्रमणमा ऋणको कुनै विषय नै नउठेको बताए। उनले भ्रमणपूर्व नै आफूले ऋण नलिने कुरा स्पष्ट गरिसकेको र भ्रमणका क्रममा पनि यो विषयमा कुनै छलफल नभएको जानकारी दिए।
प्रधानमन्त्री ओलीले भने, ‘हामीले बीआरआई अन्तर्गत विभिन्न परियोजनाका विषयमा कुरा गरेका छौँ। यी परियोजनाका लागि प्राप्त हुने सबै सहयोग अनुदान हो। ऋणबारे कुनै सम्झौता भएको छैन। बारम्बार ऋणको विषय किन उठाइन्छ ? यो सरोकार राख्ने कुरा नै होइन।’
ओलीले भ्रमणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे पनि कुनै छलफल नभएको उल्लेख गरे।
सरकार हस्तान्तरणबारे पनि स्पष्टोक्ति
प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व अब १८ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने जानकारी पनि दिए। उनले भने, ‘मेरो पालो १८ महिना रहेछ। त्यसपछि देउवाजीले डेढ वर्ष सरकार चलाउनुहुन्छ र निर्वाचन गराउनुहुन्छ। हाम्रो सहमति चुनावसम्मको हो। चुनावमा हरेक दलले बहुमत ल्याउने प्रयास गर्नेछ।’
ओलीले चुनावपछि बहुमत आएको खण्डमा बहुमतको सरकार बन्ने र त्यसो नभए अन्य विकल्प अपनाइने बताए।
प्रतिक्रिया