हामी टेण्डरमार्फत काम गराइरहेका छौं । तत्काल त्यहाँको पर्याप्त पानी आउने सम्भावना छैन
चापागाँउ/ललितखबर
गएको असोज ११ र १२ गतेको बाढी पहिरोपछि दक्षिण ललितपुरको नल्लु र बासुकी खानेपानी मुहान पुरिएसँगै ललितपुरमा अहिले खानेपानीको हाहाकार छ । बाढी गएको झण्डै ३ महिना पुरा हुन लाग्दा समेत खानेपानी कार्यालयले पानी वितरण गरेको छैन । ललितपुरको टाहाखेल, चापागाँउ, झरुवाराशी, ठेचो, सुनाकोठी, धापाखेल, खुमल्टार, नखिपोट र सातदोबाटोलगायतका स्थान खानेपानीको हाहाकार भएको हो ।
दैनिक ३ घण्टासम्म नियमित खानेपानी आउने धारामा पानी नआएपछि काँठ क्षेत्रका बासिन्दा गाग्री बोकेर स्थानीय कुवा र खोल्सा खोज्दै भौतारिरहेका छन् भने शहरभित्र बस्ने घरधनी ट्याङ्करबाट पानी किन्न बाध्य छन् ।
पछिल्लो समय गोदावरी १० मुलडोलस्थित मुहान क्षेत्रको पानी केही धारामा वितरण गरिएपछि त्यो नगन्य छ । केयुकेएलले वितरण गरेको पानी केही धारामा आउदैन ।
मुलडोल मुहानको पानी सिमित लाइनमार्फत दिनको १ घण्टा पठाइएको भएपनि धेरै धारा भएकाले सबै उपभोक्ताको धारामा पानी नआएको स्थानीयहरु बताउछन् । कतिपयको धारामा थोरै पानी आउने भएपछि मेसिनले पानी तान्न थालेपछि धेरैको घरमा खानी पानी आएको छैन ।
केयुकेएल जावलाखेलकी प्रमुख इन्जिनियर इला भट्ट ठूलो बाढी र पहिरोका कारण खानेपानी वितरण गर्न कठीन भएको बताउछन् । उनी भन्छिन्, ‘बाढी पहिरोले धेरै पाइप बगायो । आयोजना सुचारु गर्न टेण्डरमा जानु परेकाले ढिला भयो ।’
नल्ल्लु र दलचोकी आसपास बासुकीस्थित वन क्षेत्रमा रहेको मुहानमा भने बाढीले क्षति पु¥याएको छैन । नल्लु खोलाको मुहान भने बाढीले परेपछि नामोनिसाना छैन । गुप्ताका अनुसार मुहान बनाएर पानी ल्याउन समय लाग्ने अवस्था आएको छ ।
स्थायी रुपमा पानी ल्याउन ६ महिनाभन्दा धेरै समय लाग्छ
काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल) चापागाँउ शाखा प्रमुख विवेश गुप्ता आज भोलि नै वासुकी क्षेत्रको पानी वितरण गरिने बताउछन् । भन्छन्, ‘हामी पाइप परिक्षणको क्रममा छौं । एक तिहाई पानी वितरण गर्ने तरखर भइरहेको छ ।’
नल्लु खोलामा रहेको मुहान पुरिएको र धेरै पाइप बगाएको कारण पर्याप्त खानेपानी वितरण गर्नसक्ने अवस्था नरहेको उनी स्वीकार गर्छन् । भन्छन्, ‘हामी टेण्डरमार्फत काम गराइरहेका छौं । तत्काल त्यहाँको पर्याप्त पानी आउने सम्भावना छैन ।’
बाढीले खोला किनाराको पाइप बगाएको छ । ठाँउ ठाँउमा पहिरोले पुरेको छ ।
केयुकेएल चापागाँउका प्रमुख गुप्ता केही दिनभित्रै उपभोक्तालाई राहत हुने आश्वासन दिन्छन् ।
पछिल्लो समय अस्थायी रुपमा पाइप विछ्याएर बासुकीको पानी चापागाँउ टाहाखेलस्थित ट्याङ्कीमा झार्ने तयारी भइरहेको छ । धेरै ठाँउमा पर्खाल लगाउने पाइप पुरेर मिलाउने काम गर्न बाकी छ । खानेपानी आयोजनाका एक कर्मचारीका अनुसार स्थायी रुपमा पानी ल्याउन ६ महिनाभन्दा धेरै समय लाग्छ ।
प्रतिक्रिया