६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


किसानलाई सुन्तला बिक्री गर्न सकस



पुल नहुँदा ढुवानी खर्च महँगो पर्न जान्छ । नाल्दीमा पुलको योजना परेको थियो तर तनहुँ जलविद्युत् आयोजनाको तल्लो सेती जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पुल पर्ने भएका कारण उक्त पुलको योजना पनि स्थगित भएको सुनिएको छ

दमौली (तनहुँ)
तनहुँको देवघाट गाउँपालिकाका सुन्तला उत्पादक कृषकले पुल अभावको समस्याका कारण ढुवानीमा समस्या खेप्नुपरेको छ । देवघाट गाउँपालिका–३ बाट वार्षिक करोडौंको सुन्तला उत्पादन भएपनि उक्त सुन्तलालाई बजारसम्म लैजान भने कृषकले समस्या भोग्दै आएका छन् ।

नदीपारि रहेको लुङग्रिङ, बाटक, छिपछिपे, छापस्वाँरा तथा दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेती नदीमा पुल नहुँदा सुन्तला बजारसम्म लैजान निकै समस्या भएको किसान बताउँछन् । देवघाट गाउँपालिकाका विभिन्न वडामा यस वर्ष करोडौँको सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादनमा देवघाट नेपालमै प्रख्यात मानिन्छ । देवघाटको वडा नं ३ को बाटक, लुङग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराको सुन्तला नेपालकै उत्कृष्ट सुन्तलामा गनिने देवघाट–३ बाटकका किसान हर्कबहादुर थापाले जानकारी दिएका छन् ।

थापाका अनुसार यस वर्ष वडा नं ३ को ती गाउँबाट मात्रै रु तीन करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ । विगतमा केही अन्नबाली उत्पादन नभएर भोकै बस्नुपर्ने बाध्यता भएका बाटकवासी केही वर्षयता भने सुन्तला बेचेरै लखपति बनेको किसान थापाले बताएका छन् । लुङग्रिङमा एकै घरबाट रु २० लाखभन्दा बढीको सुन्तला बिक्री गरेको सुन्तला किसान भीमबहादुर रानाले जानकारी दिए ।

नेकपा (एमाले) देवघाट वडा नं ३ का वडाध्यक्ष जितबहादुर थापाले यस वर्ष वडा नं ३ बाट मात्र रु तीन करोडभन्दा बढीको सुन्तला बिक्री हुने बताएका छन् । लुङग्रिङ र छिपछिपेका किसानले बुद्धसिंह मार्गको नाल्दीघाट र मुग्लिङ–नारायणगढ सडकको गाईघाटसम्म जीपमा ल्याएर त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउँछन् भने छापस्वाँरा र दगराका किसानले भने ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा झारेर त्यहाँबाट दमौली हुँदै काठमाडौँ लैजाने गरेका छन् ।

नाल्दी र गाईघाटमा पुल भएको भए किसानलाई सहज हुने थापाको भनाइ छ । उनले भने, “पुल नहुँदा ढुवानी खर्च महँगो पर्न जान्छ । नाल्दीमा पुलको योजना परेको थियो तर तनहुँ जलविद्युत् आयोजनाको तल्लो सेती जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पुल पर्ने भएका कारण उक्त पुलको योजना पनि स्थगित भएको सुनिएको छ ।”

दगराका किसान हरिकुमार श्रेष्ठले नदीमा पुल नभएका कारण यस क्षेत्रका जनताको ढुवानीको साधन नै रोपवे भएको बताए । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाट गाउँपालिका तीनतिरबाट नदीले घेरिएको भन्दै पक्की पुल नहुँदा देवघाटवासीलाई गाह्रो भएको बताएका छन्।

थापाका अनुसार नाल्दीबाट लुङग्रिङसम्म जाने ग्रामीण सडकलाई गाउँपालिकाले सुन्तला मार्ग नामकरण गरी बजेट विनियोजन गरेको छ । गाउँपालिकाको स्रोतले बाटो बनाए पनि पुल नहुँदा राजमार्गसम्म ल्याउन समस्या परेको अध्यक्ष थापाले बताए ।

देवघाट गाउँपालिका वडा नं १, २, ३ र ४ का विभिन्न भागमा सुन्तला उत्पादन हुन्छ । विगतमा बारीबाटै डोकोमा बोकेर नारयणगढसम्म लैजानुपथ्र्याे तर अहिले गाउँपालिकाले गाउँमा बाटो पुर्याएको छ । तर नदीमा पुल नहुँदा राजमार्गसम्म सिधैँ पहुँच पुगेको छैन । पुल नहुँदा यहाँ उत्पादित वस्तु बिचौलियाको माध्यमबाट दमौली, मुग्लिन, नारायणगढ र काठमाडौँसम्म पुग्ने भए पनि घुमाउनेमा पुल नबन्दा र बाटो नहुँदा यहाँका बासिन्दाले आफूले गरेको मेहनतको उचित फल पाउन नसकेको किसानको गुनासो छ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  १ : ५३ बजे