काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसाल को ९७ वर्षको उमेरमा निधन भएको छ। वरिष्ठ पत्रकार रिसालको पुरानो बानेश्वरस्थित फ्रन्ट लाइन अस्पतालमा आइतबार साँझ ८ बजे निधन भएको हो।
पत्रकार रिसालले मृत्युपश्चात आफ्नो शरीर ललितपुरस्थित पाटन अस्पताललाई दान दिने निर्णय गरेका थिए। सोही अनुसार रिसालको शव पाटन अस्पताललाई दिइएको छ । भाइ पुरु रिसालका अनुसार भैरव रिसालको कुनै पनि अन्त्येष्टिका कार्यक्रम हुँदैन। वरिष्ठ पत्रकार रिसाल १९८५ सालमा जन्मिएका थिए।
वरिष्ठ पत्रकार रिसालले मानवअधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन् । उनले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला सञ्चालन गरेका थिए । वामपन्थी विचारधारा बोक्ने रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बनेका थिए ।
लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित वरिष्ठ पत्रकार रिसालले राससमा काम गर्नुअघि तथ्याङ्क विभागमा रहेर काम गरेका थिए । रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन् । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
प्रतिक्रिया