ललितखबर
लामो समयदेखिको तामझाँम, चर्चा र होहल्ला गर्दै प्रचार गरिएको चलचित्र ‘वसन्त’ अन्नतः शुक्रबारबाट प्रर्दशनमा आयो । होहल्ला हुनुका कारण चलचित्रका मुख्य कलाकार तथा निर्देशक प्रकाश सपुत थिए ।
पछिल्लो समय उनका सबैजसो गीत चर्चामा रहे । उनको अभिनय रहेको चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ बक्सअफिसमा सुपरहिट सावित भयो । गायन क्षेत्रबाट चलचित्रमा होमिएका सपुतको कथा र निर्देशनमा बनेको चलचित्र ‘वसन्त’को चर्चा स्वभविक थियो ।
कथासार
दलीत समुदायबाट कला क्षेत्रमा सफल बनेका प्रकाश सपुतका अधिकाशं श्रृजना भेदभाव र समाज रुपान्तरण र जागरण ल्याउने किसिमका छन् । उनले चलचित्रमा कथित तल्लो जात विश्कर्मा(कामी) र शर्मा(बाहुन) परिवारका युवा युवतीबीच भएको प्रेम सम्बन्ध र यसबाट श्रृजना भएको सामाजिक द्वन्द्वलाई चलचित्र मार्फत सार्वजनिक गरेका छन् ।
वसन्त(प्रकाश सपुत) र प्रेम(प्रभात पाल ठकुरी) साथी साथी हुन् । वसन्त विक र प्रेम ब्राम्हण समुदायका हुन् । वसन्तको शान्ति शर्मासँग प्रेम सम्बन्ध छ । प्रेमको भने सपना विकसँग । फरक जातसँग बसेको मायाप्रेमलाई समाजले स्वीकृती नदिएपछि निम्तिएको विपतलाई चलचित्रको मुल कथा बनाइएको छ ।
कमजोर पक्ष
गायक हुँदै चलचित्रको पर्दामा रमाउन आइपुगेका अभिनेता निर्देशक तथा लेखक प्रकाश सपुतले चलचित्रमा धेरै कामको गहुँगो भारी बोकेको चलचित्रको पर्दामा देखिन्छ । आफै निर्देशक, कथाकार र कलाकार हुने रहर गरेपछि चलचित्र लथालिंग बन्ने प्रबृति वसन्तमा दोहोरिएको छ ।
लम्बेतान कथाको मुख्य पात्र आफूलाई बनाएका निर्देशक सपुतले आफै गायक भइकन गीतहरुलाई छोटोछोटो राखेर क्लिप अन्याय गरेका छन् । धेरै गीतहरु राखेर गीतिचलचित्र बनाउने उनको रहर समयअभावका कारण भद्रगोलको नमूनै बनेको छ ।
चलचित्र हेरेर अनुभव गर्न सक्नुपर्छ । पात्र होइन दृश्य बोल्नुपर्छ । तर वसन्तमा पात्रहरु बोलेका छैनन् । चिच्याएका छन् । पार्शसंगीत चर्को स्वरमा बजाइएकोले होला धेरै ठाँउमा झ्याउ लाग्छ ।
चलचित्रमा दृश्यहरु कोचिएर राखिएको छ । पात्रहरु आउँछन् । छिटोछिटोे बोल्छन्, जान्छन् । त्यसैले चलचित्रको स्क्रिनप्ले राम्रो छैन ।
चलचित्रमा कथाका घुम्तीहरु धेरै छन् । लेखक तथा निर्देशक प्रकाश सपुतले के कुरा देखाउन खोजेका हुन् प्रष्ट छैन । कथासँगै दृश्यहरु सलल बगेको छैन । दलीत भएर अमानवीय व्यावहार भोग्नु परेको घटनाले मन चसक्क दुख्ने ठाँउ छैन । बेदना छ, सम्बेदना छैन । घटना छ, भावना छैन । चलचित्रभित्र चित्र देखिन्छ, तर चेत छैन । पात्रहरुको उन्नतीमा मन खुशी हुँदैन । पात्रहरुको कष्टमा मन रुदैन ।
चलचित्रमा राजेश हमाल, करिष्मा मानन्धर, प्रियंका कार्की, केकी अधिकारीजस्ता कलाकारहरुको अभिनय भए पनि प्रस्तुती र भूमिकाको हिसावमा हलुवामा वालुवा सावित भएको छ । उनीहरुलाई प्रस्तुत गरिएको तौरतरिका र उपस्थितीले कुनै गर्वबोध हुन्न ।
निर्देशक सपुतको कथामा दम छैन । प्रस्तुतीको रंग र ढंग पुगेको छैन चलचित्रको मेरुदण्डको रुपमा रहेको कथा नै ठाँउ ठाँउमा मक्किएको छ । प्रस्तुती भद्रगोल छ । पटकथा र संवाद कमजोर छ । चलचित्रलाई एउटा डकुमेन्ट्रीभन्दा माथि उठाइएको छैन । पात्रहरुले वागलुङ्गको पश्चिमा लवजलाई पूर्ण रुपमा बोलेका छैनन् । संवादमा पश्चिमी लवज मिसाएर मसलाजस्तो बनाइएको छ । संवादमा साख स्वाद भेटिन्न ।
चलचित्र भावनामा बगेको छ । विभेद विरुद्ध आक्रोस र उत्तेजनाको आगो ओकलिएको छ । चलचित्रमा शरिर छ । प्राण छैन ।
चलचित्रमा ‘डरछेरुवा कामी’ र ‘उत्ताउली बाहुनी’जस्ता अपमानजनक संवाद छन् । तर जातीय भेदभाव देखाउन ‘कामीले छोएको के खानु’को सट्टा ‘त्यो जातले छोएको के खानु’ राखिएको छ । चलचित्रमा जातीय भेदभावबाट समस्या श्रृजना भएको भाव नै हराएको छ । भेदभावको अनुभव गर्ने बलिया घटना र मनोभावविना नै चलचित्रको उठान गरिएको छ ।
चलचित्रमा कतिपय घटनालाई आचार्यजनक ढंगबाट अघि बढाइएको छ ।
सुन्दर पक्ष
निर्देशक तथा लेखक सपुतले चलचित्रको विषयबस्तु राम्रो छनौट गरेका हुन् । नेपाली समाजभित्र गाडिएर रहेको एउटा क्रुर मानवीय चाल चलनलाई उदाङो बनाएर बहसमा ल्याउने कोसिस गर्नु चलचित्रको सुन्दर पक्ष हो ।
चलचित्रमा ६० को दशकमा नेपालीहरुले भोगेको जीवन देखाइएको छ । त्यसताकाको जनयुद्ध, गाँउगाँउमा टेलिभिजन हेर्ने परम्पराको सुरुआत, गाँउपाखामा पुगेको सडकलाई चलचित्रको पर्दामा देखाएर दर्शकलाई रोमञ्चित बनाइएको छ । कथित साना जातहरुभित्र लुकेको आन्तरिक विभेदलाई चलचित्रले उप्काएको छ । वर्ण व्यवस्थाले आजको समाजमा पारेको प्रभाव देखाउने प्रयास राम्रो छ ।
प्रकाश सपुत(वसन्त विक)
प्रकाश सपुतले चलचित्रमा संवाद बोलेका हुन् की भाषण छुट्याउन कठीन छ । उनले हाँडीमा कमै भुटे झैं पटट संवाद बोल्छन् । चलचित्रमा उनी अरु कलाकारभन्दा उनी हाबी छन् । चलचित्रमा उनी जहाँ त्यही देखिन्छन् । उनको अभिनय मौलिक लाग्दैन, कृतिम र ओभरएक्टिङ लाग्छ ।
स्वस्तिमा खड्का(शान्ति विक)
अभिनेत्री स्वस्तिमा खड्काले भने चलचित्रमा ‘शान्ति’को मौलिक चरित्रलाई जुरुक्क बोकेर हिडेकी छिन् । उनले बोल्ने हरेक संवादमा मौलिक शैली भेटिन्छ । संवादै पिच्छे ‘इस्’ शव्दले दर्शक वाल्यकालमा पु¥याउछ । बागलुङतिरको आउचर, लाउचर जस्ता मौलिक शव्द र शैलीलाई उनले टपक्कै टिपेर बोलेकी छिन् ।
प्रभात पाल ठकुरी(प्रेम)
प्रभात चलचित्रका नायक हुन् कि खलनायक छुट्याउन कठीन छ । उनले ठाँउ ठाँउमा ओभर एक्टिङ गरिरहेको भान हुन्छ । राजेश हमालको सिको गरेर हिड्ने बाहुन केटो ‘प्रेम’ दलीत युवती सपनाको मायाँमा डुवेपछिको गहिरो प्रेम देखाइएको छ ।
श्री सिभान्सी (सपना विक)
अभिनेत्री सिभान्सीको अभिनय औसत छ । कमजोर निर्देशकनको मारमा उनको अभिनय पिल्सिएको अनुभव हुन्छ । सिभान्सीको उज्यालो अनुहार चलचित्रको पर्दामा अध्यारो देखिन्छ ।
खवपु(सत्य मगर)
सत्य मगर(खवपु)को चरित्र भने रमाइलो छ । मगर लवजमा बोल्ने उनले ‘टोट हो’ भन्ने सम्वादले दर्शकलाई काउकुती लगाउँछ । उनको सोच्ने शैली पनि ठट्यौली छ । चलचित्रमा गम्भिर घटना घटिरहेका बेला सत्य रमाइलो बनेर आउछन् । बेला बेलामा मनोरञ्जन दिन्छन् । चलचित्रमा सत्य पात्रलाई स्थापित गराउन थप दृश्य र रमाइला संवाद जोडेको भए चलचित्र झन् रमाइलो बन्ने थियो ।
प्रविधि
चलचित्रलाई संगीतमय बनाउन झण्डै आधा दर्जन गीतहरु राखिएको भए पनि समयाभावका कारण छोटो छोटो क्लिप मात्रै राखिएकाले मजा आउदैन । पार्ससंगीत चर्को स्वरमा राखिएकाले संवाद सुन्न मुस्किल पर्छ ।
भेषभुसामा जानकी कडायतको अक्कल काम लागेको छैन । चलचित्रमा वाल्यकालको झल्को दिन प्रकाश सपुत र प्रभातपाललगायतले लगाएको (स्कूले सर्ट र पाइन्ट) भेषभुसा सुवाएको छैन । विक्रम थापाको श्रृगारले क्रममा दाह्री जुँगा छिप्पेका कलाकारहरुलाई कलिलो देखाउन सघाएको भान हुन्न । सुसन प्रजापतीको छायाँकन हेर्दा ठाँउ ठाँउमा दृश्य हल्लिएको भेटिन्छ । राजेन्द्र मोक्तानको रंग ठिकै भए पनि कतिपय दृश्यहरु अध्यारा भएको कारण रंग छोपिएको छ ।
अन्तमा,
चलचित्र दर्शकको मनोरञ्जनका लागि बनाइनु पर्छ । चलचित्रको एक मात्र शर्त मनोरञ्जन हो । दर्शकलाई खुशी बनाउने शर्तमा धेरै कुरा चलचित्रभित्र राख्न सकिन्छ । चलचित्रमा कला हुनुपर्छ । धेरै कुरा रमाइलो पाराबाट भन्ने हो भने दर्शकले मनोरञ्जन लिन सक्छन् । त्यसका लागि निर्देशकसँग दृश्यमार्फत कथा भन्ने कला चाहिन्छ । चलचित्र वसन्तमा दर्शकलाई कलाविहीन र उराठलाग्दो पाराले जर्वजस्ती केही कुरा कोच्याउन खोजिएको छ ।
नेपाली समाज छिपेको मौलिक विषयमा चलचित्र बन्नु सुखद विषय हो । तर निर्देशक सपुतले यो चाही भुल्नु हुन्नथ्यो— दर्शक चलचित्र भवनमा मनोरञ्जन लिन पुगेको हुन्छ । चलचित्रले कलाको भाषा बोल्नु पर्नेथियो ।
प्रतिक्रिया