१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चट्याङ लागेर दुई महिला गम्भीर घाइते



खोटाङ
चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका दुई महिला गम्भीर घाइते भएका छन् । बिहीबार वर्षासँगै परेको चट्याङका कारण छितापोखरीका कृष्णमाया खड्का र देविका भुजेल गम्भीर घाइते भएका हुन् ।

छितापोखरीकी कृष्णमायाको घरमाथि र देविकाको केही मुनि पर्छ । कृष्णमाया घरभित्र भान्छाको काम गरिरहेको बेला चट्याङ परेको जनाइएको छ । चट्याङको असरका कारण कृष्णमाया बेहोस बन्नुभएको आफन्तले बताएका छन् ।

स्थानीयका अनुसार चट्याङ परेको बेला कृष्णमायाको घरभित्र आगोको ज्वाला पसेजस्तो देखिएको थियो । चट्याङ परेको केही समयपछि घरभित्र गएर हेर्दा कृष्णमायालाई बेहोस अवस्थामा भेटिएको बताइएको छ ।

देविकाको भने अत्तालिएर ठोक्किन पुग्दा टाउकोमा गहिरो चोट लागेको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रवक्ता भूपेन्द्र बस्नेतले जानकारी दिएका छन् । चट्याङका कारण घाइते बनेका दुवै महिलोको वडा नं २ डाँडागाउँस्थित आधारभूत अस्पताल ओख्रेमा उपचार भइरहेको छ । देविकाको टाउकोमा पाँच टाँका लगाइएको छ । उनीहरू दुवै जनालाई गाउँपालिका प्रमुख लोकेन्द्र राईले गाडीमा राखेर आधारभूत अस्पताल पु¥याएको प्रवक्ता बस्नेतले बताए ।

यसैबीच, खोटाङमा करिब सात महिनापछि वर्षा हुँदा किसानलाई राहत मिलेको छ । गत असोजपछि वर्षा नभएको जिल्लामा पहिलोपटक बिहीबार वर्षा भएको हो । लामो समयपछि वर्षा भएसँगै हिउँदे बाली लगाएका किसान खुसी भएका छन् । करिब छ घण्टा लामो वर्षा भएपछि किसान वर्षेबालीका लागि खेतबारी खनजोत गर्ने तथा बाली लगाउने तयारीमा जुटेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  ६ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।