काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
नयाँ वर्ष २०८२ को अवसरमा आइतबार जारी गरिएको भिडियो सन्देशमार्फत पूर्वराजाले उक्त घटना सुन्दा दु:ख लागेको बताएका हुन्।
शाहले नागरिक स्वतन्त्रता सबैभन्दा ठूलो मूल्य भएको उल्लेख गर्दै, कुनै पनि शासन व्यवस्था वा तन्त्र नागरिकको स्वतन्त्रतामाथि अंकुश लगाउने हुनु हुँदैन भन्ने धारणा व्यक्त गरे।
उनले भने, ‘‘नागरिक स्वतन्त्रताभन्दा ठूलो अरु कुनै तन्त्र हुँदैन। जहाँ वास्तविक प्रजातन्त्र हुन्छ, त्यहाँ जनगुनासो, आलोचना वा प्रशंसालाई सुन्ने संस्कार र सहनशीलता पनि हुन्छ।’’
पूर्वराजाले तीनकुनेमा भएको प्रदर्शनको क्रममा भएको हिंसालाई दुर्भाग्यपूर्ण भन्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले भने, ‘‘जुन प्रकारको हिंसात्मक घटना भयो, त्यो सुन्दा दुःख लाग्यो।’’
गत चैत १५ गते पूर्वराजाका समर्थकहरूले काठमाडौंको तीनकुने क्षेत्रमा राजसंस्थाको समर्थनमा प्रदर्शन गरेका थिए। प्रदर्शनकै क्रममा दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए।
प्रतिक्रिया