ललितपुर
नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला समितिले ललितपुरको पाटन अस्पताल र मालपोत कार्यालयमा हेल्प डेक्स सञ्चालन गर्ने भएको छ ।
जिल्लामा राम्रो स्वास्थ्य सुविधा उपलव्ध हुन नसकेको र मालपोत कार्यालयमा अनियमितताका घटना सार्वजनिक भइरहेको सन्दर्भमा सो पार्टीले हेल्प डेक्स राखेर सर्वसाधारणलाई सुविधा दिन खोजेको दाबी गरेको छ ।
दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका २ शङ्खुमा बसेको पार्टीको चौथो आवधिक योजनाको दोस्रो पुर्ण बैठकले सो निर्णय गरेको हो ।
गतचैत २८ र २९ गते २ दिनसम्म बसेको बैठकले विभिन्न १३ बुँदे निर्णय समेत गरेको छ। बैठकले नियमित स्कुलिङ संचालन गर्ने, विकृत संसदीय गणतन्त्रको विकल्प राजतन्त्र होइन “नेपाली विशेषताको समाजवाद“ भन्ने विषयमा जिल्ला र पालिका स्तरमा अन्तरक्रिया कार्यक्रमहरु संचालन गर्ने, पार्टी समर्थक सदस्यता वितरण गर्ने, बैशाख र जेठ २ महिना “संगठन सुदृढीकरण तथा विस्तार अभियान“ संचालन गर्ने, प्रतिगामी षड्यन्त्र र यथास्थितिवादी रवैयाको विरुद्ध टोल–टोलमा खबरदारी कोणसभा गर्ने, भ्रष्ट, माफिया, तस्कर, विचौलिया ÷दलालहरु विरुद्ध जनसंघर्ष गर्ने, स्वबासी जनतालाई लालपुर्जा दिलाउन संघर्ष गर्ने, सार्वजनिक सम्पदाको दोहनको विरुद्ध अथवा रक्षाको लागि संघर्ष गर्ने, पार्टीलाई उत्पादनसंग जोडेर “आत्मनिर्भर पार्टी–आत्मनिर्भर जनता“ बनाउने केन्द्रीय नीतिलाई जिल्लामा ठोस योजनासहित लागू गर्ने, स्थानिय निकायमा भइरहेका अनियमितता र जनसरोकारका विषयहरुमा केन्द्रित भइ पालिकाहरुलाई ज्ञापन–पत्र बुझाउने, पार्टीलाई कडा अनुशासनको मातहतमा राख्न आचारसंहिता र ठोस कार्यविधि निर्माण गर्ने, सामाजिक संजालको प्रयोगलाई मर्यादित र उद्देश्यमुलक बनाउन, क्रान्तिकारी, देशभक्त र समाजवादीहरुलाई नेकपामा गोलबन्द गर्न ध्रुवीकरण अभियान संचालन गर्ने लगायत निर्णयहरु बैठकले पारित गरेको हो ।
बैठकमा केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला सेक्रेटरी ललितसी, केन्द्रीय, ललितपुर इन्चार्ज विपिन सी, केन्द्रीय सदस्य तथा गोदावरी नगर इन्चार्ज रत्न सीलगायतको सहभागिता थियो ।
प्रतिक्रिया