हरेक शुक्रबार चलचित्र भवनमा नयाँ नयाँ चलचित्र प्रर्दशन सुरु हुन्छन्, उत्रन्छन् । कतिपय चलचित्र आएको र गएको समेत पत्तो हुँदैन । शुक्रबारबाट प्रर्दशन सुरु भएको चलचित्र ‘कर्मा’ भने केही फरक दृष्टिकोणबाट निर्माण गरेको चलचित्र पाइएको छ । यस चलचित्रको केही कमजोरी र सुन्दर पक्षहरु कलाउदै चलचित्रको तथ्यगत विश्लेषण र समिक्षा गरेका छौं ।
कथासार
कर्मा(विपिन कार्की) राम्रो अंकमा एसईइ पास हुन्छन् । अनि प्रहरी इन्सपेक्टर बन्न शहर पस्छन् । तर सहरमा उनी गुण्डाको फन्दामा पर्छन् । बेखर्ची विपिन जागिर खान्छन्, अनि ती गुण्डाहरुसँग लड्छन् ।
चलचित्रमा छोरा (कर्मा)लाई इन्पेक्टर बनाउने आमा (सरिता गिरी)को सपना र सपनाभित्रको रहस्य चलचित्रमा छरपष्ट छ । आमाको सपनाको लागि ‘कर्मा’ को संर्घष र जेलको यात्रा । ‘कर्मा’ प्रतिको आमाको मातृवात्सल्य चलचित्रको मुल कथा हो ।
एक्सन चलचित्र भनेर प्रचार गरिएको भए पनि ‘कर्मा’ मा दर्दनाक आमा छोराको कहानी छ । धेरैको आँखा रसाउछन् ।
सुन्दर पक्ष
निर्देशक सौरभ चौधरीको निर्देशन बनेको चलचित्र हो, कर्मा । अघिल्लो चलचित्र अयस्त्यबाट चलचित्र निर्देशनमा होमिएका उनको कामको प्रशंसा उतिबेला नै भएको थियो । उनको फरक तौरतरिकाबाट दृश्यमार्फत कथा भन्ने शैली सुन्दर पक्ष हो ।
समाजभित्रका स साना कथालाई सशक्त रुपमा अभिनयमार्फत देखाएर चर्चा कमाएका विपिन अधिकारीलाई एक्सनमा उतारेको विषय पछिल्लो समय चर्चामा थियो । तर ‘कर्मा’ मा विपिनमार्फत आमाछोराको वियोगान्त कथा प्रस्तुत गरिएको छ । चलचित्रको अर्को सुन्दर पक्ष स्क्रिनप्ले(पटकथा) हो । ठाँउ ठाँउमा कलाकारको मुखबाट निस्केको संवादले दर्शकलाई जुरुक्क उठाउँछ । कतिपय ठाँउमा आँखा रसाउछ ।
चलचित्रमाका गीतले परिस्थितीजन्य कथा भन्न सहयोग गरेको छ । ठाँउ ठाँउमा चलचित्रका दृश्यहरुमा प्रकाश संयोजन र क्यामेरा एंगल राम्रो छ । दुखान्त कथामा एक्सन मिसाएर निर्देशक चौधरीले दृश्यमार्फत सुन्दर कथा भनेका छन् । उनको कथा भन्ने दृश्यशैली मिठो छ । प्रविधि,संगीत र कलाकारहरुको अभिनय शिल्पले चलचित्रमा निखार ल्याउन सहयोग गरेको छ ।
कमजोरी
हुन त एक्सनका दृश्य दिनु एउटा प्राविधिक कुरा हो । तर ठाँउ ठाँउमा विपिनको एक्सनका दृश्यमा फिनिसिङ देखिन्न । यद्यपी उनले स्टण्टका राम्रा सट दिएका छन् ।
खलपात्रमा मुकुनको प्रस्तुती कमजोर लाग्छ । ठूलो स्वारमा हुँकारले चिच्चाउने खलनायकहरु हेर्ने बानी परेका नेपाली दर्शकलाई मुकुनको न्याउरो अनुहार र मसिनो स्वरलाई खलपात्र भनेर पत्याउन गाह्रो लाग्छ ।
चलचित्रमा खासै गलितो गीत संगीत छैन । हाँस्य मसला थपिएको भए सुनमा सुगन्ध हुन्थ्यो ।
सामान्य परिस्थितीजन्य घटनाबाट कथा उठान गरेर चलचित्रको अन्त्य दमदार बनाउन सकिएको देखिदैन । चलचित्र सकिनु केही मिनेट अघि नै दर्शकलाई उठेर हिड्ने अवस्था देखिन्छ ।
चलचित्रमा प्रकाश,संगीत,संवाद र क्यामेरामार्फत फरक दृश्यभाषा श्रृजना गर्न निर्देशक चौधरीले विर्सेका छन् । चलचित्रमा संवाद हावी छ । उनलाई कथा छिटो छिटो सिध्याउन हतार भए झैं दृश्यको रफ्तार छिटोछिाटो अघि बढाइएको छ ।
विपिन कार्की ‘कर्मा’
सधै फरक चरित्रमा देखिने विपिन अधिकारी ‘कर्मा’मा सोझो पढेलेखेको अनि देशका लागि केही गर्ने सोच भएको राष्ट्रचरित्रमा पर्दामा देखिएका छन् । एउटा सोझो युवकको रुपमा उनले सामान्य रुपमा आफ्नो चरित्र अघि बढाएको देखिन्छ । उनी एक्सनमा भन्दा अभिनयमा राम्ररी डुवेका छन् । उनको अभिनय भयंकर राम्रो भन्न नसकिए पनि न्याय दिएका छन् । निर्देशकले दिएको भूमिका र चरित्र हेर्दा विपिन झन् राम्रो गर्नसक्ने कालकार हो भन्ने लाग्न सक्छ ।
उपासनासिंह ठकुरी ‘गिताञ्जली’
उपासनाको चलचित्रमा छोटो सशक्त भूमिका छ । चरित्रमा डुवेर अभिनय गर्न खप्पिस अभिनेत्री उपसनाले चलचित्रमा राम्रै अभिनय गरेकी छिन् । यद्यपी उनको संवादशैली र आवाज अरु चलचित्रभन्दा फरक छैन । उनले अभिनय शैली बदल्ने कोसिस नै गरेकी छैनन् । सबै चलचित्रमा उस्तै शैलीको अभिनय हेर्दा दर्शकलाई मज्जा आउदैन ।
मुकुन भुसाल ‘भिम’
मुकुनले खलपात्रको लागि फरक चरित्र निर्माण गर्न सकेका छैनन् । मुकुनले ठाँउ ठाँउमा खलपात्र हुँ भन्ने विर्सेको भान हुन्छ । नकारात्मक भूमिका गर्न उनको अभिनय शिल्पको कमी हो कि भन्ने लाग्छ । मोटो अनि अग्लो सरिर जुँगेमुठे अनि गरगहना र अनौठा पोशाकमा सानसँग बस्ने खलपात्र मुकुनमा नहुँदा पत्याउन कठीन हुने स्वरुप देखिएको छ । श्रृगार र भेषभुसामा वेवास्ता गरिए झैं लाग्छ ।
दिव्यदेव ‘विजय हमाल’
कलाकार देव्यदेवले ‘कर्मा’मा एउटा फरक चरित्रलाई डोहो¥याएर अघि बढाएका छन् । सन्की प्रहरी अधिकृतको हाउभाउलाई उनले टपक्कै टिपेर चलचित्रको पर्दामा राखिदिएका छन् । उनको मुखको हाउभाउ, हिड्ने अनि बोल्ने तरिकाबाट असल कलाकारले देखाउनु पर्ने अभिनय पस्केका छन् ।
सरिता गिरी
खासै चलचित्रको पर्दामा नदेखिने कलाकार सरिता गिरी बुढी आमाको भेषमा पर्दामा देखिएकी छिन् । आफूले मायाँ गर्ने छोरासँगको पलहरुलाई उनले सजीव ढंगले देखाएकी छिन् । उनले अभिनयमार्फत मातृवात्साल्यको अनुपम उदाहरण देखाएकी छिन् । उनले बोल्ने संवादमा पिडा मिसिएको अनुभव हुन्छ । ठाँउ ठाँउमा उनको अभिनय हेरेर दर्शकले आँखाबाट आँशु झार्छन् ।
चलचित्रमा कलाकार सुज्यान सिलवाल ‘सन्ध्या भण्डारी’ले कतव्यनिष्ट प्रहरी जवानको उदाहरण प्रस्तुत गर्दै राम्रो अभिनय गरेकी छिन् । बेन बस्नेतको चलचित्रभित्र अनुहार मात्रै देखाइएको छ । संवाद छैन । निर्मल शर्माको छोटो र मिठो भूमिकाबाट चलचित्र अघि बढाइएको छ ।
प्रविधि
समिर मियाको भिएफएक्स कहाँ प्रयोग भएको छ भनेर खोज्नु पर्छ । चलचित्रमा देखिने र अनुभव गर्ने गरेर भिएफएक्सको प्रयोग छैन । कविराज गहतराजले उपसनालगायत कलाकारलाई राम्ररी नचाएका छन् । उत्तम न्यौपानेको स्वर संयोजनमा खोट लगाउने ठाँउ भेटिन्न । श्रीे श्रेष्ठले विपिन र मुकुनलगायततबाट औसत एक्सन दृश्य निकालेका छन् ।
अन्तमा,
इमान बोकेर बाँचेका हरेक युवाहरु भष्ट्र समाजमा कसरी पिल्सिएको छ भन्ने देखाउन चौधरीको प्रयास राम्रो छ । हाम्रा वरपर रहेका दानवीय चरित्रलाई उनले साँकेतिक रुपमा चलचित्रमा राखेका छन् । जुन समाजमा यत्रतत्र भेटिने पात्र जस्तै छन् । निर्देशक चौधरी चुनौतीपूर्ण कथालाई सजिलै चलचित्रको दृश्यमार्फत भन्न जान्ने खुबी भएका निर्देशक हुन् भन्ने कुरा प्रमाणित गर्ने कोसिस गरेका छन् ।
एउटा चलचित्र निर्देशकको सोच र दृष्टिकोणबाट सुरु हुन्छ । चलचित्र निर्देशकको सोच अनुरुप कथा,कलात्मक क्षमता, प्रविधिको प्रयोग र प्रस्तुती परिणाम हो ।
निर्देशक चौधरीले एक्सन चलचित्रभित्र दुखान्त आवेगहरु मिसाएर चलचित्र बनाउन सकिन्छ भन्ने देखाएका छन् । उनको यो प्रयोग कलात्मक मात्रै छैन सुन्दर पनि छ ।
प्रतिक्रिया