१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तराईमा अत्याधिक गर्मी, पुग्यो ४० डिग्रीभन्दा माथि, सावधानी अपनाउन अनुरोध



काठमाडौं
पछिल्ला केही दिनदेखि देशभर गर्मी बढेको छ । तराईमा तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ भने काठमाडौं उपत्यकामा पनि ३२ डिग्री तापक्रम मापन गरिएको छ ।
तापक्रम बृद्धिपछि जनजीवन प्रभावित बन्न सुरु भएसँगै जल तथा मौसम विज्ञान विभागले तराईका क्षेत्रमा आगामी दुई दिन अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले आज राति तातो हावाको लहरसम्बन्धी विषेश बुलेटिन जारी गर्दै उक्त सावधानी अपनाउन सबैमा अनुरोध गरेको हो ।
विभागले भनेको छ, “आगामी दुई दिनसम्म मधेस प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ । लुम्बिनी प्रदेशका तराईका भू–भागहरूमा आगामी दुई दिन तातो लहरकोसमेत सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।”
जारी विशेष बुलेटिनमा लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको उल्लेख छ ।
साथै मधेस प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जनाइएको छ ।
सम्भावित असर
विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरु जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सोबाट बच्न निम्न उपायहरु अपनाउन हुन अनुरोध गरेको छ ।
सावधानीका उपाय
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नदेखिने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटकपटक पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्तमात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत अनुरोध गरिएको छ ।
यस महाशाखाबाट दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिनमासमेत सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने भएकाले सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुनसमेत अनुरोध गरिएको छ ।
–––

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ९ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।