गोरखा
गोरखा र कास्कीमा चट्याङ लागेर तीन जनाको निधन भएको छ भने दुईजना घाइते भएका छन् ।
चट्याङ लागेर निधन हुनेमा सहिद गोरखाको लखन गाउँपालिका–१, बक्राङका ४२ वर्षका राजु खनाल र कास्कीको अन्नपूर्ण गाउँपालिका–११ पोडेस्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेको सिलिचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरत पुविर राई र सोही ठाउँका वर्ष १८ का महेश राई रहका छन् ।
आइतबार साँझ अन्दाजी ७ः५० बजे घरमा बसिरहेका बेला एक्कासी परेको चट्याङ लागेर खनाल गम्भीर घाइते भएका थिए । घाइते खनाललाई प्रदेश अस्पताल गोरखामा उपचारका लागि ल्याएको भएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
मृतकको शव अहिले परीक्षणका लागि अस्पतालमा राखिएको छ । त्यस्तै आइतबार साँझ नै पालुङटार नगरपालिका–७ स्थित च्याङलीमा चट्याङ लागेर ५० वर्षकी सुकमायाँ आले, १८ बर्षिया विपना आले घाइते भएका छन् । घाइते दुवैजनाकोे चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई मजदुरको निधन
कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर दुई मजदुरको निधनभएको छ । चट्याङका कारण निधन हुनेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–११ पोडेस्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेको सिलिचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरत पुविर राई र सोही ठाउँका वर्ष १८ का महेश राई रहका छन् ।
समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाईमा रहेको त्रिवेणीताल पदमार्गमा बाटो फराकिलो बनाउने, सिँढी हाल्ने र रेलिङ निर्माणमा खटिएका नौ जनामध्ये बाँकी सात जना भने सकुशल रहेको जनाइएको छ ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा चार जनाको टोली आइतबारनै घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक शमाले बताएका छन् । उनले भने, “जिल्लाबाट गएको प्रहरी टोली हिजो राति घान्द्रुक पुगेर बास बसेको छ । त्यहाँबाट पैदल पाँच घण्टाभन्दा बढी समय लाग्ने भएकाले दिउँसोसम्म घटनास्थल पुगेर शव ल्याउने प्रक्रिया सुरु हुन्छ ।”







प्रतिक्रिया