काठमाडौं । रौतहटमा १४ वर्षीय बालकको गोली हानेर हत्या भएको छ । वृन्दावन नगरपालिका-७ का १४ वर्षीय कृष्णप्रसाद यादवको हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय नागेन्द्र सहनी, २२ वर्षीय साधु भन्ने अर्को नागेन्द्र सहनी, गौर नगरपालिका-४ का विकास पटेल र वडा नम्बर ८ का अनिल साह छन् ।
प्रहरीका अनुसार यादवलाई टिकटक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँदी खोलामा पुर्याई गोली हानी हत्या गरिएको थियो । रौतहटका एसपी दिलिप घिमिरेका अनुसार बालकको छातीमा दुई राउन्ड गोली हानिएको छ ।
बालकको हत्यामा प्रयोग गरिएको पेस्तोल दुर्गाभगवती गाउँपालिका-५ स्थित घरमा टीनको बाकसमा लुकाएको अवस्थामा भेटिएको घिमिरेले बताए ।
नागेन्द्र सहनी यस घटनाका मुख्य अभियुक्त हुन् । साधु भन्ने यसमा सहायक भूमिका खेल्ने व्यक्ति हुन् । अनिल साह भने ग्यारेज पसल भएका व्यक्ति हुन् । यस घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता हुनसक्ने आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।
यादव वैशाख ६ गते अपराह्न ४ बजेतिर बिआर०५डब्ल्यु ०१३७ भारतीय नम्बरको मोटरसाइकल लिएर घरबाट निस्किएका थिए । तर उनी त्यसदिन घर फर्किएनन् । केही दिनसम्म पनि घर नफर्किएपछि परिवार इलाका प्रहरी कार्यालय गरूडा पुगेर निवेदन दिएका थिए ।
खोजीकै क्रममा गरूडा नगरपालिका-८ स्थित चाँदी खोलामा वैशाख ११ गते विभत्स अवस्थामा शव भेटिएको थियो । साथै मोटरसाइकल टुक्रा पारिएको अवस्थामा गौरको एक वर्कशपमा भेटिएको छ ।







प्रतिक्रिया