२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अन्त्येष्टि गर्न लैजाँदै थिए बालिकाको शव, प्रहरीले लियो नियन्त्रणमा



काठमाडौं । संखुवासभामा प्रहरीले ६ वर्षीय बालिकाको शव नियन्त्रणमा लिँदै उनकी काकीलाई पक्राउ गरेको छ। संखुवासभा भोटखोला गाउँपालिका-४, सिब्रुङवासी गोपाल तामाङकी छोरी युनिकाको शव नोबेल अस्पताल विराटनगरबाट घर फर्काउँदै गर्दा प्रहरीले एम्बुलेन्सबाटै नियन्त्रणमा लिएको हो।

संखुवासभा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतका अनुसार घटना शंकास्पद देखिएकाले बालिकाकी काकी अनिका गुरुङ (तामाङ) लाई पक्राउ गरी अनुसन्धान थालिएको हो।

प्रहरीका अनुसार गत वैशाख २० गते लडेर गम्भीर घाइते भएकी युनिकाको उपचारका क्रममा यही जेठ ७ गते नोबेल अस्पतालमा मृत्यु भएको थियो। त्यसपछि उनका बुवा गोपालले छोरीको शव एम्बुलेन्समा घर फर्काउँदै थिए।

तर बालिकालाई उनकै भाइबुहारी अनिकाले धकेलेर लडाउँदा घाइते भएको र उपचारका क्रममा मृत्यु भएपछि उनको दाहसंस्कार गर्न शव घर ल्याउँदै गरिएको सूचना पाएपछि प्रहरीले संखुवासभाको खाँदबारी नगरपालिका ३ गुरुङचोकबाट नियन्त्रणमा लिएको डीएसपी बस्नेतले जानकारी दिए। अहिले बालिकाको शव जिल्ला अस्पताल संखुवासभाको शव गृहमा राखिएको छ।

प्रहरीले प्राप्त गरेको घटना विवरणअनुसार गत वैशाख ३० गते बालिकाका बुवा गोपाल र उनका भाइबुहारी अनिकाबीच झगडा भएको थियो। त्यस क्रममा अनिकाले गोपालकी छोरी युनिकालाई धकेल्दा उनी डिलबाट लडी गम्भीर घाइते भएकी थिइन्।

सोही कारण अनिकालाई प्रहरीले पक्राउ गरेको हो। अब अदालतबाट म्याद थपलगायत कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १० जेष्ठ २०८२, शुक्रबार  १ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।