ललितपुर
ललितपुरमा सञ्चालन हुने ऐतिहासिक नृसिंह जात्राको प्रारम्भिक विधिका रूपमा फूल राखेर मल्ल राजालाई प्रतिकात्मक रुपमा निमन्त्रणा दिइएको छ ।
हरेक वर्ष स्वां तःवनेगु भनेर नृसिंह जात्रा सञ्चालन गर्न जिम्मा पाएको पालोवाला राजोपाध्याय्को परिवारको अगुवाइमा गुरू पूर्णिमाका दिन ललितपुरका मल्ल राजालाई फूल, जनै, सुपारीलगायत राखेर प्रतिकात्मक रुपमा निमन्त्रणा दिने गरिन्छ ।
हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन नृसिंह जात्रा सञ्चालन हुने गर्दछ भने यस वर्ष साउन २९ गते यो जात्रा सञ्चालन हुँदैछ । यस वर्षको जात्रा सञ्चालन गर्न जिम्मा गाःबहालको मधुर शर्मा राजोपाध्यायको परिवारले पाएको छ । यस वर्षको जात्राका लागि गएको बिहीबार गुरुपूर्णिमाका दिन भएको हो ।
विसं १७४१ मा राजा भएका योगनरेन्द्र मल्ललाई आजसम्म पनि जीवित राजाका रूपमा मानिन्छ । दरबारको उपल्लो तलाको पश्चिमपट्टीको एक कोठाको झ्याल खुला राखी उनका लागि एउटा शयनकक्ष अद्यापि तयार नै राखिएको हुन्छ । विसं २०४६ सम्म उनका लागि भनेर प्रत्येक बिहान तमाखु लिएर जाने गरिन्थ्यो । दरबार अगाडि रहेको योगनरेन्द्र मल्लको शालिकको टाउकामा एउटा चरा पनि छ । उनले आफू मर्ने बेलामा त्यो चरा उडेर नगएसम्म आफूलाई ज्युँदै छ भन्ठान्नु भनेका कारण अहिलेसम्म पनि योगनरेन्द्र जीवितै रहेको विश्वास गरिन्छ ।
सोही विश्वासमा ऐतिहासिक नृसिंह जात्राको प्रारम्भिक विधिका रूपमा मल्ल राजालाई पाटन दरबारको तुसाहिटीमा रहेको शिलाको शय्या अर्थात् खाटमा निमन्त्रणा स्वरूप फूल राख्ने गरिन्छ । हाल गुथी संस्थान ललितपुरका प्रमुखको उपस्थितिमा फूल राख्ने गरिन्छ ।
मल्ल राजालाई निमन्त्रणा दिएपछि मात्र राष्ट्रपति, गुथिका थकालीहरू लगायतलाई जात्रामा सामेल हुन निमन्त्रणा दिने गरिन्छ । बिहीबार नै जात्रासँग सम्बन्धित गुठियार शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई पनि साउन २९ गते हुने जात्रा अवलोकनका लागि निमन्त्रणा दिएको थियो ।
ललितपुरका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताका आधारमा पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर नृसिंह जात्रा सञ्चालन गर्ने गर्दछ । यो जात्रा नेपाल सम्वत् ७५१ अर्थात् विक्रम सम्वत् १६८८ देखि निरन्तर सञ्चालन भइरहेको लिखित दस्तावेज छ ।








प्रतिक्रिया