काठमाडौं । केही कलाकारले सामाजिक सञ्जालमा बढ्दो घृणाजन्य अभिव्यक्तिविरुद्ध ‘प्रतिरोध अभियान’ सुरु गरेका छन्। कलाकार ऋचा शर्मा, गायिका एलिना चौहान, समीक्षा अधिकारी, मोडल गरिमा शर्मा लगायतले आफूविरुद्ध भइरहेका अशिष्ट, अमर्यादित र आपत्तिजनक टिप्पणी गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताका आइडीहरू सार्वजनिक गर्दै चेतावनी दिएका छन्।
उनीहरूको यो अभियानलाई सर्वसाधारणदेखि कलाकारहरू पनि खुलेर समर्थन गरिरहेका छन्। गायक रामकृष्ण ढकालले समेत समीक्षाको र एलिनाको अभियानमा ऐक्यबद्धता जनाउँदै आफ्ना विरोधी आइडीहरू सार्वजनिक गरेका छन्। उनले ४ वटा सामाजिक सञ्जालका रियल र फेक आइडी सार्वजनिक गर्दै ती प्रयोगकर्ताहरूले सातभन्दा बढी फेक अकाउन्ट बनाइ आफूविरुद्ध चरित्र हत्या र साइबर अपराध गरिरहेको बताएका छन्।
“यी यस्ता केही अपराधी हुन्, जसमध्ये केही अहिले प्रहरी हिरासतमा छन् भने केही निगरानी र खोजीको सूचीमा छन्,” ढकालले लेखेका छन्। उनले आफूविरुद्ध सामाजिक सञ्जालमार्फत आएको अशिष्ट गाली र अभिव्यक्तिहरूको प्रमाण संकलन गरेर साइबर ब्युरोमा उजुरी दिइसकेको पनि जानकारी दिएका छन्।
ढकालका अनुसार कलाकारहरू जनताका लागि मनोरञ्जन दिने सर्जक हुन्, उनीहरूमाथि सामाजिक सञ्जालमा गरिने तुच्छ गालीको गम्भीर मनोवैज्ञानिक असर पर्न सक्छ। यस्तो व्यवहारले सिर्जनात्मकतालाई दबाउँछ र समाज नै दीर्घकालीन असरमा पर्ने उनले बताएका छन्।
उनले कानुनको उपस्थितिमा समेत सामाजिक सञ्जालबाट गैरजिम्मेवार अभिव्यक्ति दिनु निन्दनीय रहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन्।
कलाकारहरूले सुरु गरेको ‘प्रतिरोध अभियान’ले साइबर दुरुपयोग र घृणाजन्य भाषाको बिरुद्धमा जनचेतना फैलाउने काम गरेको भन्दै विभिन्न सामाजिक अभियन्ताहरूले पनि अभियानको समर्थन जनाइरहेका छन्।








प्रतिक्रिया