ललितखबर
पछिल्लो समय चापागाँउका बासिन्दा टिपर आतंकका कारण हैरान छन् । साँझ विहान होस् वा दिन जुनसुकै बेला साँधुरो सडक रहेको बस्तीमा टिपर हुँयकेर आउँछ । बच्चा र बृद्धहरु डराउछन् । धुलो उड्ने र हिलो छ्याप्नेको कुनै हिसावै छैन ।
लेले टिकाभैरव क्षेत्रमा दर्जनभन्दा धेरै खानी छन् । यो सडकबाट दिन र रातको समयमा सयौं टिपर चल्छन् । टिपर विरुद्ध यहाँका स्थानीयबासी एकजुट भएर लडेको पनि बर्षै भइसक्यो । न त प्रहरी, प्रशासनले उनीहरुको समस्या सुन्यो । न व्यावसायीले नै बीच बस्तीबाट टिपर चलाउन छोडे । कान्तिलोकपथ हुँदै हेटौंडा जाने सडक सुचारु भएदेखि यहाँको ट्राफिक जाम अर्को टाउको दुखाईको विषय बनेको छ ।
यही समस्यालाई लिएर ललितपुर लेलेका सनोज महत आजकल आँखामा पट्टी बाधेर टोल टोलमा व्यानर बोकेर उभिरहेका भेटिन्छन् । उनी बस्तीको बीचबाट टिपर गुडाउन र स्थानीय बासिन्दालाई निकासी कर लगाएको विषय उठाइरहेका छन् ।
गएको साउन एक गतेबाट उनले नागरिक प्रथम अभियान सुरु गरेका हुन् । उनले लेले, टिकाभैरव र चापागाँउमा प्रर्दशन गरेका छन् । टिपर आतंक रोक्न र यहाँका जनतालाई सचेत गराउन आफूले अभियान सुरु गरेको महत बताउछन् । भन्छन्, ‘अब अति भइसक्यो । हामी सबैले मिलेर साँधुरो सडक रहेको बस्तीबाट टिपर चल्न बन्द गर्नुपर्छ ।’ उनले नगरपालिका वडा, प्रहरी कार्यालय र प्रशासनलाई लिखित रुपमा समेत माग राखेका छन् ।
उनले बस्तीबाट टिपर चल्न बन्द गरेर नख्खु करिडोर निर्माण गर्न माग अघि सारेका छन् । नख्खु करिडोर निर्माण हुनसके यहाँका किसानले समेत जमिनको मूल्य पाउने, दक्षिण ललितपुरका बासिन्दाले सहर आउने जाने निकाश पाउने र सिंगो ललितपुरको विकासको नयाँ ढोका खुल्ने उनी बताउछन् ।
प्रहरी प्रशासन र व्यावसायीले बस्तीबाट टिपर नगुडाउने प्रतिबद्धता व्यक्त नगरेसम्म यो अभियान नरोक्ने अभियन्ता सनोज बताउछन् । भन्छन्, ‘निकासी करको सम्बन्धमा अदालतको ढोका ढक्ढकाउने योजना छ ।’
पछिल्लो समय नख्खु करिडोरको जग्गा मापदण्डको नाममा हडप्ने काम भएको तर सडक नहुँदा सवारी, व्यावसायी र जग्गा धनी अन्यायमा परेको भन्दै उनले विरोध जनाएका छन् ।
के हो नागरिक प्रथम अभियान ?
देशभरका विभिन्न जिल्लामा विभिन्न अभियन्ता सक्रिय रहेको नागरिक प्रथम अभियान कुनै राजनीतिक आवरणमा सञ्चालन नभएको उनी बताउछन् । भन्छन्, ‘यो स्वतन्त्र अभियान हो । कुनै राजनीतिक आवरणमा सञ्चालन भएको संस्था होइन ।’
को हुन् सनोज ?
सनोज महत गोदावरी ५ लेलेका स्थानीय बासिन्दा हुन् । २०५८ सालमा पाटन कलेजमा आईए लेभलमा अध्ययन गरिरहेको अवस्थामा तत्कालीन सरकारले आतंककारी घोषणा गरेको नेकपा माओवादीको भातृसंगठन अखिल क्रान्तिकारीको सदस्य रहेर आतंककारी राजनीतिक गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरेको थियो । अदालतको सफाईपछि उनी २०६० सालमा सफाई समेत पाए । उनले सो समयमा जेलमै बसेर आइए पास गरे । अनि भारत बसेर अध्ययनलाई अघि बढाए । २०६३ सालपछि माओवादी खुला राजनीतिमा सक्रिय भएपछि उनी राजनीतिक रुपमा सक्रिय समेत रहे । उनी नेता बाबुराम भट्राईको नेतृत्वमा बनेको नयाँ शक्ति पार्टीको ललितपुर प्रमुख समेत भए । २०६८ सालपछि उनले घोषणै गरेर पार्टी त्यागे । उनी अहिले आफूलाई कुनै राजनीतिक गतिविधिमा सक्रिय नरहेको बताउछन् । भन्छन्, ‘म अहिले कुनै राजनीति गतिविधिमा सक्रिय छैन । कुनै राजनीतिक दर्शन बोकेर हिडेको छैन । विशुद्ध स्वतन्त्र छु ।’ उनी तत्कालिन समय सचेत भएर भन्दा पनि अचेत भइ राजनीतिमा लागेको धरणा राख्न थालेको छन् ।








प्रतिक्रिया