२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


ललितपुरबाट चलचित्र ’कुमारी’को छायाङ्कन सुरु, बङ्गलामुखीमा भयो शुभ मुहूर्त



काठमाडौं
ललितपुरबाट चलचित्र ’कुमारी’को छायाङ्कन सुरु भएको छ ।
मङ्गलवार बिहान ललितपुरको बङ्गलामुखी मन्दिरमा चलचित्रको औपचारिक शुभ मुहूर्त भएको हो । जहाँ चलचित्रका मुख्य कलाकार, निर्देशक, र निर्माण टोलीको उपस्थिति थियो।

दिनेश राउतले निर्देशन गरिरहेको ‘कुमारी’ को सम्पूर्ण छायाङ्कन ३५ दिनमा सकिने लक्ष्य राखिएको बताएका छन् ।
चलचित्रमा अबिषेक खड्का र आकृति राजभन्डारी मुख्य भूमिकामा छन् भने घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, र भूपी लुहारजस्ता कलाकारहरूको पनि अभिनय रहनेछ ।

निर्देशक राउतले ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’, र ‘क्लासिक’जस्ता सफल प्रेमकथामा आधारित चलचित्र निर्देशन गरेपछि सामाजिक विषयमा केन्द्रित ’पर्व’, ’महाभोज’, ‘प्रसाद’, ‘प्रकाश’ र ’पुजार सार्की’ जस्ता चलचित्र पनि निर्देशन गरेका थिए। उनले ‘कुमारी’ मार्फत फेरि प्रेमकथाको संसारमा फर्केका हुन्।

बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमको सहकार्यमा निर्माण गरिरहेको यो चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् भने स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्।

‘कुमारी’ मा सङ्गीत केहर सिंह लिम्बु, सुमन तामाङ, र प्रशान्त सिवाकोटीको रहेको छ भने गीतमा स्वर केहर सिंह लिम्बुले नै दिएका छन्। गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्।

सुसन प्रजापतिको छायाङ्कन निर्देशन रहने यस चलचित्रमा कार्यकारी निर्मातामा केदार भुसाल, प्रोडक्सन डिजाइनरमा आशिका शर्मा, मुख्य सहायक निर्देशकमा दिनेश बहादुर रावत रहेका छन्। चलचित्रको अन–स्क्रिन कविता रिया अधिकारीले रचना गरेकी छन्। चलचित्रमा पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)को रहेको छ। सुप्रिम पराजुलीको रङ्ग संयोजन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, किरण थापाको कोरियोग्राफी रहनेछ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  १२ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।