काठमाडौं
नेपाली चलचित्र क्षेत्रका भर्सटायल अभिनेता सौगात मल्लको चलचित्र धेरै दर्शकले प्रतिक्षा गरिरहेका हुन्छन् । उनको अभिनय मन पराउने दर्शकका लागि खुशीको खबर छन् । अभिनेता मल्ल अब नयाँ जोडीका साथ चलचित्रमा देखिदैछन् ।
उनीसँगै अभिनेत्री सोफी धरेल चलचित्र ‘जुबा’मा अभिनय गर्ने पक्का भएको छ ।
सौगात र सोफीसँगै मुख्य भूमिकामा रहेका अर्का कलाकार सुधन पोखरेल छन् । उनको यो तेस्रो चलचित्र हो । यसअघि दुईवटा सिनेमामा काम गरिसकेका छन् । तर, रिलिज हुन भने बाँकी छ । मुख्य भूमिकामा भने उनको यो पहिलो चलचित्र हो ।
राजधानमिा भर्खरै चलचित्र ‘जुबा’ निर्माणको घोषणा गरिएको छ । अस्त्र फिल्मसको प्रस्तुति रहने चलचित्रको प्रकाश कर्णको लेखन तथा निर्देशन रहने चलचित्रको स्क्रिनप्ले तथा राइटर वर्षा पौडेल हुन् । क्रिएटिभ प्रोडुसरमा निर्देशक कर्ण र राइटर वर्षा दुवै छन् ।
रक क्यास्टर स्टुडियोको निर्माण रहने चलचित्र घोषणासँगै तीनवटा क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरिएको छ ।
एउटा पोस्टरमा सौगात मल्ल मात्रै छन् । उनी क्यामेरा अगाडि रहेर क्यामेरालाई नमस्ते गरिरहेका छन् । उनको लुक्स, गेटअप र ढोगाइले उनी अभिनेता रहेको संकेत गर्छ ।
अर्को पोस्टरमा उनी पि.सि.ओ.मा उभिएर फोनमा कुरा गरिरहेका छन् । ल्यान्डलाइन फोन र उनको र सोफीको गेटअपले यो चलचित्रले दुई दशक अगाडिको कथा भन्न लागेको संकेत गरेको छ । यसमा सोफी केही रिसाइरहेकी छिन् भने गम्भीर मुद्रामा सौगात फोनमा कुरा गरिरहेका छन् ।
अर्को पोस्टरमा सुधन, जो खलपात्रमा छन् । चुरोट तानिरहेका उनको लुक्सले उनी खतरनाक भिलेनको भूमिकामा रहेको प्रष्ट पारेको छ ।
चलचिको कथा, अन्य कलाकार तथा अन्य पक्षबारे भने निर्माण टिमले केही पनि खुलाएको छैन ।








प्रतिक्रिया