मुम्बई
चलचित्र भारतीय गायिकाहरु लता मंगेशकर र आशा भोस्लेले मोहम्मद रफीको करिअर बिगार्ने प्रयास गरेको आरोप लागेको छ ।
गायक मोहम्मद रफीका छोरा शाहिद रफीले बलिउडकै चर्चित दिदीबहिनी लता मंगेशकर र आशा भोस्लेमाथि रफीको करिअरलाई ईष्र्या र असुरक्षाको कारणले जानाजान बिगार्ने प्रयास गरेको कडा आरोप लगाएका छन् ।
पत्रकार भिक्की लालवानीसँगको अन्तर्वार्ताका क्रममा शाहिदले दिदीबहिनी लता मंगेशकर र आशा भोस्लेलाई संकेत गर्दै भने, “मेरा बुवाले पुरुष गायकहरूसँग कुनै समस्या राख्नुभएको थिएन, तर महिला गायकहरूसँग भने फरक थियो। उनीहरूलाई रफी साब आफूभन्दा माथि हुनु मन पर्दैनथ्यो। सबैले उहाँलाई नम्बर वान भनिरहेका थिए, र उनीहरूलाई त्यो सह्य थिएन।”
शाहिदले आफ्ना बुवाको करिअरमा कहिल्यै ‘डाउनफॉल’ नभएको दाबी गर्दै, गरे । भने,‘७० को दशकमा गाएका गीतहरू सुन्नुहोस्। त्यो समय पनि उहाँकै आवाज सर्वोच्च थियो”
गायक रफी केही समय स्वेच्छाले संगीतबाट टाढा बसेको उनको भनाई छ ।
शाहिदका अनुसार आशा भोस्लेले खुलेआम रफीको ‘रेन्ज छैन’ भनेर टिप्पणी गरेकी थिइन्। उनले भने, “म यो कुरा सिधै उनको अनुहारमा भन्न सक्छु। लता जीले पनि दाबी गर्नुभयो कि बुवाले करिअर बिग्रँदै गर्दा उनलाई माफ मागेका थिए, जुन सरासर झूट हो। वास्तविकता त उल्टो हो। धेरै गायकहरू उदाउँदै थिए, जसमा उनको आफ्नी बहिनी पनि थिइन्। असुरक्षा कसलाई थियो त?”
त्यस्तै, उनले लता मंगेशकरले रफीलाई गिनिज बुक अफ वल्र्ड रेकड्र्सको सम्मानबाट रोकिदिएको पनि आरोप लगाए। “बुवाले पाउने अन्तिम क्षणमा त्यो लता जीलाई दिइयो। बुवाले कुरा त्यत्तिकै छोडिदिनुभयो,” शाहिदले भने।
आशा भोस्लेलाई पुनः सम्बोधन गर्दै शाहिदले भने, “तपाईं विज्ञ हुनुहुन्छ, लाज मान्नुपर्छ। अब उमेर ढल्किँदै गर्दा अरूको होइन, आफ्नैबारेमा कुरा गर्नुस्। मेरो बुबाको बारेमा कसैले नराम्रो बोल्यो भने म सहन सक्दिन।”
शाहिदका अनुसार, मोहम्मद रफी र लता मंगेशकरबीच व्यक्तिगत सम्बन्ध फेरि कहिल्यै बनेन। नर्गिस र जयकिशनको पहलमा उनीहरूले मिलेर एक कार्यक्रम भने गरेका थिए। तर त्यसपछि निजी रूपमा दुवैबीच बोलचाल भएन।
सन् १९६७ मा पद्मश्री सम्मान पाएका रफीको १९८० मा मधुमेह र मुटुरोगका कारण ५५ वर्षमै निधन भएको थियो।








प्रतिक्रिया