काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका केही निर्माताबीच देखिएको टकराव, धम्की, गालीगलौज र असभ्य व्यवहारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। संघले यस्ता गतिविधिले चलचित्र मात्र नभई पत्रकारिता क्षेत्रलाई समेत असर पारेको भन्दै कडा आपत्ति जनाएको हो।
संघले जारी गरेको विज्ञप्तिमा पत्रकारलाई धम्की दिने, दुव्र्यवहार गर्ने वा शारीरिक हानी पुर्याउने गतिविधि कदापि स्वीकार्य नहुने स्पष्ट गरिएको छ। संघले निर्माताहरूमाझ समस्या परेमा वा कुनै पत्रकारसँग विवाद भएमा संघलाई जानकारी दिन आग्रह गर्दै व्यावसायिक ढंगले समाधान गर्न तयारी रहेको जनाएको छ।
हालै निर्माता रोहित अधिकारीसहितको समूहले चलचित्र पत्रकार संघका सदस्य केशव खड्कालाई धम्क्याएको विषय सार्वजनिक अडियोसहित आएको भन्दै संघले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको छ। संघले पत्रकार र पत्रकारिता क्षेत्रलाई सुरक्षित राख्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ।
चलचित्र पत्रकार संघ नेपालले भनेकाे छ, ‘कुनै पनि पत्रकारलाई धम्की दिने वा दुर्व्यवहार गर्ने गतिविधिको कडा शब्दमा विरोध गरिनेछ,” विज्ञप्तिमा उल्लेख छ। संघले देशभर रहेका ४ सयभन्दा बढी चलचित्र पत्रकार एकताबद्ध भएर पत्रकारको पक्षमा उभिने चेतावनी दिएको छ।’
संघले पत्रकारहरूलाई समेत पत्रकार आचारसंहिता पालना गर्दै जिम्मेवार र व्यावसायिक ढंगले पत्रकारिता गर्न आह्वान गरेको छ। साथै, मानहानी, अपमान वा चरित्रहत्या हुने सामग्री प्रकाशन वा प्रसारण नगर्न आग्रह गरिएको छ। पछिल्लो समय चलचित्र, म्युजिक भिडियो र मनोरञ्जन कार्यक्रमहरूमा कन्टेन्ट क्रियेटरहरूको संलग्नता बढेको भन्दै संघले सबैलाई “चलचित्र पत्रकार” भनेर बुझ्ने वा त्यस्तो रूपमा प्रस्तुत नगर्न निर्माता, आयोजक र सरोकारवालाहरूलाई समेत अनुरोध गरेको छ।
चलचित्र पत्रकार संघले सहकार्य र समन्वयमै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै, निर्माताहरूमाझ आलोचना र कमजोरीलाई आत्मसमीक्षा गरेर सुधारतर्फ लाग्न आग्रह गरेको छ।









प्रतिक्रिया