काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) भएको जेन–जीको आन्दोलनमा घाइते भएका नागरिकको उपचार निःशुल्क गर्न मातहतका सबै संघीय अस्पतालहरूलाई निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अग्रसरतामा मन्त्रालयले संघीय अस्पतालमा आउने आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी तत्काल उपचार सुनिश्चित गर्न ‘सर्कुलर’ जारी गरेको हो।
त्यस्तै, मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका स्थानमा सहजै उपलब्ध गराउन पनि निर्देशन दिएको छ। काठमाडौं उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट ‘रिफर’ हुने बिरामीलाई अर्को अस्पतालमा सहजै लैजान सहजीकरण गर्न आग्रह गरिएको छ।
मन्त्रालयले सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीलाई एकजुट भई घाइतेको उपचारमा खटिन आह्वान गरेको छ।








प्रतिक्रिया