काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट भागेका सञ्जय साह ‘टक्ला’ लाई काभ्रेबाट पक्राउ गरिएको छ । जेनजीको प्रदर्शनको क्रममा नख्खु कारागारबाट भागेका उनलाई इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले पक्राउ गरेको हो ।
उनलाई कैद भुक्तानका लागि कारागार पठाउने तयारी भइरहेको छ । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि भैरहवा कारागारबाट सरुवा गरी नख्खु कारागारमै राखिएको थियो । सहकारी ठगी आरोपमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका लामिछानेलाई कारागारबाट निकालिएको केही समयमै टक्लासहित सबै कैदी कारागारबाट भागेका थिए । उनीहरूले कारागारमा आगजनी समेत गरेका थिए ।
पूर्वराज्यमन्त्री समेत रहेका टक्ला १२ वर्षदेखि कारागारमा थिए । उनी जन्मकैदको सजाय भोग्दै थिए । २०६९ साल बैशाख १८ गते जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जाने गरी भएको बम विस्फोट घटनाको मुख्य नाइकेको अभियोगमा उनी सजाय काटिरहेका थिए । उनलाई जनकपुरको रेडियो टुडेका सञ्चार उद्यमी अरुण सिंहानियाको हत्याकाण्डको पनि मुख्य योजनाकार भनिएको छ ।








प्रतिक्रिया