२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन



काठमाडौं । काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । अघिल्ला वर्षहरुमा तामझामका साथ यस्ता पसलहरुको शुभारम्भ गरिने गरिए पनि यसपटक औपचारिक कार्यक्रम बिनै सुरु गरिएको हो । त्यस्ता पसलहरुमा नागरिकले ५–१० रुपैयाँ छुट पाउन सक्नेछन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी प्रादेशिक प्रमुख धर्मकुमारी राजवंशीले खाद्य व्यवस्था कार्यालयबाट चामल, मसलाजन्य सामाग्रीहरु, केराउ, दाल, तेलहरु बिक्रीमा राखिएको बताए । उनकाअनुसार चामल, गहुँ दाल, केराउमा प्रतिकेजी ५ रुपैयाँ छुट दिइएको छ भने चिनीमा ५ रुपैयाँले छुट दिइएको छ । यस्तै, चिउरा, आटा, पिठो, मैदा, चियापत्ती जिरा, धनियाँ मसलाहरुमा प्रतिकेजी ७ रुपैयाँका दरले छुट दिइएको छ भने तेलमा प्रतिलिटर ७ रुपैयाँका दरले छुट दिएको छ । खाद्यले सिमि, फापर, मार्सि, बासमतिमा प्रतिकेजी १० रुपैयाँ छुट दिएको छ ।

उनले प्रतिकेजी १० रुपैयाँ छुट दिने निर्णय भए पनि यसपटक खसी बोका आउने/नआउने निश्चित नरहेको जानकारी दिए । आन्दोलनको प्रभावका कारण खसीबोका ल्याउन नसकिएको उनको भनाइ छ । यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले समेत सुपथ मूल्यका पसलहरु सञ्चालनमा ल्याएको छ । साल्टले सहुलियत दिएर आयो नुन २४ रुपैयाँमा विक्री गरेको छ भने २ केजीको चिनीलाई १९० रुपैयाँमा सहुलियत पसलहरुमार्फत विक्री गरेको छ । भान्साघर चामल, एसटीसी सोना मनसुली चामललगायतमा समेत छुट दिएको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ ।

साल्ट ट्रेडिङका अनुसार यस वर्ष देशभर तीन दर्जन स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । काठमाडौँ उपत्यकामा भने कालीमाटी, सतुङ्गल, जावलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, भक्तपुरको सल्लाघारी, कौशलटार, काँडाघारी, इमाडोल र महाराजगञ्जमा पसल खुलाइएका छन् । उपत्यकाबाहिर झापाको बिर्तामोड, मोरङको विराटनगर, सप्तरीको राजविराज, सिराहाको लहान, धनुषाको जनकपुर र पर्साको वीरगञ्जमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ६ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।