ललितपुर । ललितपुर महानगरपालिका–१८ भैँसेपाटीस्थित सङ्घीय मन्त्री आवास, प्रदेश प्रमुख र मुख्यमन्त्रीका कार्यालयमा जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनीपछि प्रारम्भिक क्षति विवरण सङ्कलन सुरु भएको छ।
सङ्घीय सचिवालयका अनुसार, घटनामा क्षति पुगेका संरचनाको विवरण एक हप्ताभित्र तयार हुने अनुमान गरिएको छ। सचिवालयका सुपरिटेन्डिङ इञ्जिनियर चक्रवती कण्टका अनुसार प्रारम्भिक विवरण सङ्कलनको प्रक्रिया अघि बढाइएको छ।
भैँसेपाटीस्थित ९६ रोपनी १० आना क्षेत्रमा बनेका २७ वटा अत्याधुनिक सुविधा सम्पन्न सङ्घीय मन्त्री, राष्ट्रियसभाका अध्यक्ष–उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका भवन पूर्ण रूपमा जलेका छन्। यस आवासमा मन्त्रीहरू गत असारमा मात्र सरेका थिए।
त्यसैगरी, २७ रोपनी १२ आना क्षेत्रफलमा रहेका सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीका सम्पर्क कार्यालयमा पनि आगजनी भएको छ।
हाल उक्त क्षेत्रमा नेपाली सेनाले सुरक्षा व्यवस्था गर्दै आएको छ। आवास क्षेत्रमा बस्ने परिवारका सदस्यले मात्र परिचयपत्र देखाएर प्रवेश पाएका छन्। सङ्घीय सचिवालयले क्षति विवरण प्राप्त नहुुञ्जेल सरसफाइलगायतका अन्य कार्य अघि नबढाइने जनाएको छ।








प्रतिक्रिया