२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जेनजी सहिदको बिदाइमा कुलमान र ओमप्रकाश सहभागी



काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको अन्त्येष्टि प्रक्रिया सुरु भएको छ । टिचिङ अस्पतालबाट अन्त्येष्टिका लागि शव पशुपति लगिएको हो । त्यसक्रममा दुई मन्त्री शवयात्रामा सरिक भएका छन् ।

गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल र ऊर्जा मन्त्री कुलमान घिसिङ शवयात्रामा सहभागी भएका छन् । घिसिङ गोपीकृष्ण हलबाट राष्ट्रिय झण्डा बोकेर शवयात्रामा सहभागी बने भने गृहमन्त्री अर्याल चाबहिल चोकबाट राष्ट्रिय झण्डा ओढेर सहभागी भएका छन् ।

मृतकका परिवार र आफन्तले शवयात्रापछि अन्त्येष्टि गर्ने तयारी गरेका छन् । त्रिवि शिक्षण अस्पतालमा रहेका शवहरूलाई चक्रपथ हुँदै पशुपति आर्यघाट लगिरहिएको छ । शवयात्रामा सहभागीहरूले मृतकका फोटो र राष्ट्रिय झण्डा बोकेका छन् । कतिपयले ‘नि:सन्तानलाई के थाहा, जेनजीको सपना ?’ लेखिएको कपडाले शरीर ढाकेका थिए ।

सरकारले जेनजी आन्दोलनमा मृत्यु भएका सबैलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरेपछि मृतक परिवार अन्त्येष्टि गर्न तयार भएका हुन् ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक बन्दा ७२ जनाको ज्यान गएको थियो । मृत्यु हुनेमध्ये धेरैजसो गोली लागेका थिए भने केहीको शव जलेको अवस्थामा फेला परेको थियो । १० जनाको शव र्‍यालीसहित लगिएकोमा ६ जनाको शव हेलिकप्टरमा काठमाडौं बाहिर लगिने भएको छ ।

 

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  २ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।