२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र परान’ को पोस्टरमा अभिनेत्री अञ्जना र महेश देखिए अंगालोमा



 

काठमाडौं

पछिल्लो पुस्ताका अभिनेत्री अञ्जना बराइली र महेश त्रिपाठी फरक अभिनय क्षमताका कारण चर्चामा छन् । मुख्य भूमिकामा अनुबन्धित अञ्जना र महेश चलचित्र परान’ को पोस्टरमा अंगालोमा बाँधिएको अवस्थामा देखिएका छन् ।

दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको चलचित्र ‘परान’ को फस्र्टलुक पोस्टर सार्वजनिक भएसँगै चलचित्रको भावात्मक कथा पर्दाफास भएको हो । पोस्टरले चलचित्र प्रेमकथामा आधारित रहेको संकेत गरेको छ । बिहीबार फस्र्टलुक सार्वजनिक गर्दै चलचित्र कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने औपचारिक घोषणा समेत गरिएको छ ।

पोस्टरमा यी दुई एकअर्काको अंगालोमा छन् भने अञ्जनाको सिउँदोमा सिन्दुर देखिनुले उनीहरू विवाहित जोडीको रूपमा रहेको संकेत गर्दछ। यद्यपि, निर्माणपक्षले यसबारे खुलाएको छैन।

पोस्टरमा महेश केही गम्भीर मुद्रामा छन् भने अञ्जना उनको छातीमा टाउको अड्याएर शान्त र कोमल भावमा प्रस्तुत भएकी छिन्। महेशको आँखामा देखिएको गम्भीरताले उनीहरूको सम्बन्धमा कुनै चुनौती वा उतारचढाव आउन सक्ने समेत संकेत गर्छ।

चलचित्रको ट्यागलाइन ‘सासले हैन, साथले चल्ने’ राखिएको छ, जसले चलचित्रको मुख्य सार वा सन्देश प्रस्तुत गर्छ। यसले जीवनमा भौतिक अस्तित्व (सास) भन्दा भावनात्मक साथ र सम्बन्धको महत्वलाई दर्शाउन खोजेको बुझ्न सकिन्छ।

च्लचित्र क्षेत्रमा देशकै प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूह र तथा प्रिज्मा समूह आबद्ध छ । दुबै व्यावसायिक घरानाको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले चलचित्र निर्माण गरेको छ । बाइस्कोप सिनेमाको एकल ब्यानरमा पहिलो प्रोजेक्टको रूपमा ’परान’ चलचित्र निर्माण गरिएको जानकारी बाइस्कोपका प्रबन्ध निर्देशक रन्जीत आचार्यले दिएका छन्।

चलचित्रमा वरिष्ठ अभिनेता नीर शाह प्रमुख भूमिकामा छन्। साथमा महेश र अञ्जनासहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायत कलाकारहरूको अभिनय छ।
दीपक आचार्यकै कथा रहेको चलचित्रको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन्।

निर्देशक आचार्यले फस्र्टलुक ल्याएसँगै चलचित्रको प्रचारप्रसार सुरू भएको बताए। उनले भने, ‘अहिलेसम्म चलचित्रलाई कसरी हुन्छ राम्रो बनाउनमै ध्यान दियौं। पोस्ट प्रोडक्सनको काम लगभग अन्तिम चरणमा पुगेको छ। अब तीव्र रूपमा प्रचारप्रसारमा लाग्छौं।’

रिदम कंडेलको संगीत रहेको यस चलचित्रका गीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाललगायतले स्वर दिएका छन्। शिवराम श्रेष्ठको डिओपी रहेको चलचित्र मित्र डि. गुरूङले सम्पादन गरेका हुन्। ‘परान’ दसैं र तिहारलगत्तै देशभरका सिनेमा हलमा कार्तिक १४ देखि प्रदर्शनमा आउनेछ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  १२ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।