२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘वरिष्ठ बलराम’ भाइटीकामा प्रदर्शन हुँदै : दयाहाङ र विजयबीचको ‘वरिष्ठ’ बन्ने संघर्षको कथा



काठमाडौं। निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गरेको फिल्म ‘वरिष्ठ बलराम’ आगामी भाइटीकाको दिन, कात्तिक ६ गते देशभर प्रदर्शनमा आउँदैछ। फिल्ममा दयाहाङ राई, विजय बराल र समृद्धि अर्याल मुख्य भूमिकामा छन्।

पत्रकार सम्मेलनमार्फत फिल्मका कलाकार र निर्माण टोलीले चलचित्रको कथा, पात्र र विषयवस्तुबारे जानकारी दिएका छन्। मुख्य अभिनेता दयाहाङ राईले फिल्म ‘वरिष्ठ बलराम’लाई स्थापित र उदाउँदो व्यक्तिबीचको प्रतिस्पर्धा र संघर्षको कथा भएको बताए। उनका अनुसार, फिल्मले समाजमा इज्जत र प्रतिष्ठा कायम राख्न खोज्ने स्थापित व्यक्तिहरू र त्यसलाई टक्कर दिँदै अघि बढ्न खोज्ने नयाँ पुस्ताबीचको मनोवैज्ञानिक द्वन्द्वलाई चित्रण गर्छ।

दयाहाङले भने, “मान्छे जस्तोसुकै होस्, उसले समाजमा आफूलाई वरिष्ठ र प्रतिष्ठित देखाउन खोज्छ। यो मानवीय स्वभाव हो। मेरो चरित्र पनि यही सोचमा केन्द्रित छ।” अर्का अभिनेता विजय बरालका अनुसार, ‘वरिष्ठ बलराम’ एउटा सामान्य व्यक्तिको वरिष्ठ बन्ने चाहनाको कथा हो। उनले फिल्ममा दुई सोचबीचको टकराव मुख्य विषय भएको बताए।

बरालले भने, “फिल्ममा मेरो पात्र ‘बले’ हो। दयाहाङको चरित्रसँग टकराब हुन्छ, तर ‘वरिष्ठ बलराम’ को हो भन्ने कुरा दर्शकले फिल्म र ट्रेलरमा बुझ्नेछन्।” उनले सेटमा वरिष्ठ सहकलाकारसँग टकराब लिनु चुनौतीपूर्ण भए पनि दयाहाङको सहयोगले सहज बनेको अनुभव सुनाए।

दयाहाङले भने, सेटमा आफू व्यक्ति होइन, चरित्र बन्ने भएकाले वरिष्ठ–कनिष्ठ भन्ने कुरा अर्थहीन हुने बताए। उनले यसअघि ‘दासढुंगा’मा गुरु अनुप बरालसँग यस्तै भूमिकामा काम गरेको अनुभव पनि बाँडे।

मुख्य अभिनेत्री समृद्धि अर्यालले आफू फिल्ममा ‘शो पिस’ मात्रै नभई प्रभावशाली भूमिकामा रहेको बताइन्। उनले भनिन्, “म जहाँजहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल भूमिका हुन्छ। दुई लिड क्यारेक्टरबीचको द्वन्द्वमा मेरो पनि महत्वपूर्ण प्रभाव रहनेछ।”

उनले थपिन्, “‘वरिष्ठ बलराम’ले मेरो सिने करियरमा नयाँ मोड ल्याउने विश्वास छ।” फिल्ममा दयाहाङ, विजय र समृद्धिसँगै पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीपकुमार चौधरी (पीके) लगायतका कलाकारको पनि अभिनय रहेको छ।

चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडीले लेखेका छन्। वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा र आन्भी फिल्म्सको सहकार्यमा बनेको फिल्मका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन्।

‘वरिष्ठ बलराम’ को ट्रेलर चाँडै सार्वजनिक हुने तयारीमा छ। चलचित्रको कथा, संवाद र अभिनयका कारण यो वर्षको प्रमुख सामाजिक ड्रामा बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  ३ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।