यो पात्रसँग कहीँकतै मेरो मनोविज्ञान जोडिएको छ, सोही कारण कथा सुन्नेबित्तिकै मैले अभिनय गर्न सहमति दिएको हुँ
काठमाडौँ
अभिनेता नीर शाहको मुख्य भूमिकामा निर्माण भएको चलचित्र ‘परान’ आफ्नो. अभिनय यात्राको परिक्षा रहेको बताएका छन् ।
चलचित्र ‘परान’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक कार्यक्रममा आफ्नो झण्डै छ दशकको कलाकारिता यात्रामा यो चलचित्र एउटा परीक्षा भएको उनको भनाई छ ।
“मैले चलचित्रमा धर्मनाथको भूमिका निर्वाह गरेको छु । यो पात्रसँग कहीँकतै मेरो मनोविज्ञान जोडिएको छ, सोही कारण यसको कथा सुन्नेबित्तिकै मैले अभिनय गर्न सहमति दिएको हुँ” अभिनेता शाहले भने ।
अभिनेता शाहले चलचित्रमा आफूले सतप्रतिशत मेहनत गरेको र यसको मूल्याङ्कन दर्शकले गर्ने बताए
“मेरा लागि यो एउटा पाठशाला झैँ भयो । मेरा सहकर्मी कलाकारसँग धेरै र नयाँ कुरा सिक्न र बुझ्न पाएँ”, अभिनेता शाहले भने ।
अभिनेत्री केकी अधिकारीले चलचित्रले एउटा परिवारमार्फत वर्तमान समाज र देशलाई चित्रण गरेको बताइन् । निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ ले चलचित्र ‘परान’ को मुख्य कथा आफ्नै परिवारको भए पनि यसले अधिकांश नेपालीको व्यथा देखाउन खोजेको धारणा राखे ।
परिवार, सम्बन्ध र सङ्घर्षको कथालाई प्रस्तुत गरिएको उक्त चलचित्रमा अभिनेता शाह र अभिनेत्री अधिकारीसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राईलगायत कलाकारले अभिनय गरेका छन् ।
शेखर गोल्छा र रञ्जित आचार्यले संयुक्त रूपमा निर्माण गरेको चलचित्रमा शिवराम श्रेष्ठले छायाङ्कन, मित्र डि गुरुङले सम्पादन र गगन थापामगरले सङ्गीत सिर्जना रहेको छ ।
चलचित्र यही कात्तिक १४ गतेदेखि नेपालभर प्रदर्शन हुने भएको छ ।



यो पात्रसँग कहीँकतै मेरो मनोविज्ञान जोडिएको छ, सोही कारण कथा सुन्नेबित्तिकै मैले अभिनय गर्न सहमति दिएको हुँ




प्रतिक्रिया