काठमाडौं । आउँदो साता कार्तिक १४ बाट रिलिज हुन लागेको पारिवारिक कथानक फिल्म‘परान’ले दर्शकहरूलाई आकर्षित गर्न ‘मेरो परान’ प्रतियोगिता घोषणा गरेको छ। निर्माण पक्षले प्रतियोगितामा सहभागी हुने दर्शकहरूलाई १ लाख रुपैयाँसम्मको पुरस्कार दिने जानकारी दिएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले आफ्नो जीवनमा रहेको आफ्नो ‘परान’ को फोटो पोस्ट गर्नुपर्नेछ। यसमा बुबा, आमा, दुवै, श्रीमान्/श्रीमती, प्रेमीप्रेमिका, साथी वा दाजुभाइ–दिदीबहिनीसँगको फोटो प्रयोग गर्न सकिनेछ। पोस्टमा क्याप्सनमा ‘मेरो परान’ लेख्नुपर्नेछ र फिल्मको अफिसियल फेसबुक पेजलाई ट्याग गर्नुपर्नेछ।
प्रतियोगितामा लक्की ड्र मार्फत १ जना भाग्यशाली विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने सय जनाले फिल्मको विशेष शोको टिकट पाउनेछन्।
यसैगरी फिल्मको प्रचारअन्तर्गत केही स्वयंसेवकहरूले QR कोड सहित शहरका विभिन्न भागमा घुम्दै ट्रेलर वा गीत सेयर गर्ने दर्शकहरूलाई फिल्मका कलाकारसँगै फिल्म हेर्ने अवसर पनि प्रदान गरिनेछ। यस अवसरको लागि ५० दर्शक छनोट गरिनेछ। दुबै प्रतियोगितामा रिलिजको एकसाता पछिसम्म (कार्तिक २०) सहभागिता जनाउन सकिनेछ।
फिल्मको निर्माणमा गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा र प्रिज्मा एडभर्टान्जिङ एजेन्सीका प्रमुख रन्जित आचार्यको लगानी रहेको छ। फिल्मले एक बुबा र छोराको कथा प्रस्तुत गरेको छ र यसका शीर्ष भूमिकामा वरिष्ठ अभिनेता नीर साह अभिनय गरेका छन्।
निर्देशक दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको यो पहिलो फिल्म हो। फिल्ममा निर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, बालकलाकार आर्यदीप आचार्य र आरभजंग अधिकारीले अभिनय गरेका छन्।
फिल्मको ट्रेलर रिलिजले पहिले नै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइसकेको छ र फिल्मले रिलिजपछि पनि उत्तिकै उत्साह सृजना गर्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया