काठमाडौं । कात्तिक २१ गते प्रदर्शनमा आउँदै गरेको नेपाली चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक भएको छ।
सार्वजनिक ट्रेलरमा दयाहाङ राईलाई च्याब्रुङबाधकको भूमिकामा प्रस्तुत गरिएको छ। ट्रेलरले देखाएको अनुसार, छोरीको जन्मपछि दयाहाङ राई र अर्का पात्रबीचको सम्बन्धमा उत्पन्न फाटोलाई चलचित्रको कथा मुख्य आधार बनाइएको छ।
तीन मिनेट ५२ सेकेन्ड लामो ट्रेलरमा डार्क ह्युमरको झलक देखिन्छ। चलचित्र उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् भने निर्माणको जिम्मेवारी रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले सम्हालेका छन्।
फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बराल प्रमुख भूमिकामा छन्। साथै बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, वेदना राई र सिर्जना निङ्लेखुले पनि अभिनय गरेका छन्।
चलचित्र बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो। ट्रेलरले दर्शकमा उत्सुकता बढाएको छ र फिल्म प्रदर्शन अघि नै चर्चा सुरु भएको छ।








प्रतिक्रिया