ललितखबर
आजकल गाँउ बस्तीमा युवा भेटिदैनन् । यहाँ कि त केटाकेटी छन् कि बुढामात्र । बस्ती खाली हुनुको कारण हो युवाहरु विदेश पलायन हुनु ।
यो समस्या प्रत्येक घर घरमा छ । छोरो विदेश गएपछि बुढा बाआमाको के हालत होला ?

आजको पुस्ता यस्तै दुःखमा गुज्रिरहेको छ । काम गर्ने छोरो घरमा नहुँदा आजकल धेरैका बाआमा सहरतिर छन् । गाँउघरमा रमाएका उनीहरु सहरको साँधुरो कुनामा बस्न बाध्य छन् ।
गाँउका खान्दनी जिम्वाल धर्मनाथ (निर शाह)को पिडा बोकेको चलचित्र ‘परान’ आजकल चलचित्र भवनमा प्रर्दशन भइरहेको छ । आजको समयको भाषा र पिडा बोल्ने चलचित्र परान ‘सासले होइन साथ’ले रोकिएको दृश्यमा देखाइएको छ ।
कथासार
चलचित्रको कथा सामान्य छ । वावुआमालाई गाँउ मनपर्छ, छोराछोरीलाई सहर । छोराबुहारीहरु बाबुआमालाई गाँउमा छोडेर विदेशम रमाएका छन् । ठ्याक्कै आजको समाजजस्तै ।
गाँउका जिम्वाल खानदानका धर्मनाथका तीन छोरा छन्– एउटा अष्ट्रेलिया, अर्को माइलो काठमाडौं अनि कान्छो आफैसँग गाँउमा ।

उपाध्याय बाहुन धर्मनाथ कुखुरा छुँदैनन् तर कान्छो छोरो गोपालनाथ(महेश त्रिपाठी)ले कुखुरा पालेर आफूसँग गाँउ बसेको उनलाई मनपर्छ । उनी गाँउघरका बच्चासँग खेल्छन् । बुढापाकासँग गफिन्छन् । बुहारी रुपा(अञ्जना बराइली) गाँउकै स्कूलमा शिक्षिका छिन् ।
एक दिन बुहारी रुपालाई अमेरिकी लोटरी चिठ्ठा (डिभि) पर्छ । छोरो बुहारी अमेरिका उड्ने सपनासँगै धर्मनाथ एक्लो बन्छन् । सबै छोराहरु भविश्य खोज्दै गाँउ छोडेपछि धर्मनाथको जीवनमा आइपर्ने अकल्पनिय पिडा चलचित्रमा छछल्किएको छ । धर्मनाथको सहर बसाई अनि अमेरिकीमा छोरोलाई वावु छोड्दाको पिडा मात्रै होइन चलचित्रको अन्त्यसँगै थुप्रै रुचिकर दृश्य हेर्न पाइन्छ ।
सुन्दर पक्ष
चलचित्र परानमा मान्छेभित्रको भावनालाई टपक्क टिपेर चलचित्रमा राखेको छ । ‘परान’ले मनोरञ्जन होइन । अनुभव गराउछ । धेरै ठाँउमा रुवाउछ । थोरै ठाँउमा हसाउँछ ।

परानमा लक्ष्मीनारायण,गाँउबुढो, रुपा, मानबहादुर,कमला र धर्मनाथजस्ता जिउँदो जाग्दो पात्रहरु छन् । लाग्छ, उनीहरुले पर्दामा अभिनय होइन जीवनको भोगाईहरु देखाइरहेका छन् । चलचित्रको कथा भड्किएको छैन । सलल बगेको छ । पर्दामा एकटकले आँखा जुधाउने दर्शकको ध्यान कतै जाँदैन ।
पर्दामा गाँउका दृश्यलाई सुन्दर ढंगबाट दुरुतै देखाइएको छ । मौरीको घर,गोरु जोतेको,तुलसीको मठ, घुम्ती घर, मोही पर्ने र गाई दुहुने परम्परागत जीवनशैलीलाई दुरुस्तै उतारिएको छ ।
चलचित्रको पटकथालाई असाध्यै सुन्दर ढंगले प्रस्तुत गरिएको छ । मनछुने संवादहरु सुन्न पाइन्छ । दृश्यहरु उत्तिकै किफायती छन् । चलचित्रमा अनावश्यक नचाहिदा फर्को कही कतै जोडिएको छैन ।

चलचित्रका धेरै ‘जनरा’ हुन्छन् । दर्शकले आफूलाई मन पर्ने जनरा छानेर हेर्छन् । फेमली ड्रामा(पारिवारिक कथा) मन पराउने दर्शकलाई परान मास्टरपिस लाग्न सक्छ ।
निर्देशक दिपक प्रसाद आचार्य(काकु) हेरेका दर्शकका लागि चलचित्र परान भिन्न लाग्नसक्छ । चलचित्र परानभित्र टेलिचलचित्रको अनुभव पक्कै मिसिएको छ तर उनको चलचित्र हेर्दा उनी सक्किगोनी जस्तो चलचित्रमा पनि थिए र? भन्ने ठाँउ बनाएका छन् । उनले अद्भूत निर्देशकीय क्षमता प्रस्तुत गर्न सफल भएका छन् ।
परान हेरेपछि ‘फेरि हेरौं न’ भन्ने लाग्न सक्छ । धेरै पल्ट अनायसै आँखामा आँशु आउँछ ।
चलचित्रमा हरेक दश मिनेटमा रोचक दृश्य भेटिन्छ ।
कमजोरी
चलचित्रमा थोरै कमजोरी खुट्याउन सकिन्छ । चलचित्रमा मिठो संगीतको कमी छ । एक्सन,थ्रिलर र भरपुर कमेडी मनपर्ने दर्शकलाई यो चलचित्र उपयुक्त नहुन पनि सक्छ ।
कला अभिनय
सधैं उस्तै खाले पात्रमा देखिने निर शाहको अभिनय पर्दामा ‘वाह’ भन्न लायक छ । गाँउघरका ठूलाबडा जिम्वाल परिवारको सानमान र इज्जतलाई उनले जुरुक्कै बोकेका छन् । गाँउबुढो मदनकृष्ण श्रेष्ठले बुढ्यौली जीवनको पिडालाई सजीव ढंगले पोखेका छन् । निर शाहसँगको दौतरी बनेका उनको मनको बह सुनिनसक्नु पिडादायक रहेको पाइन्छ । छोराहरुको भूमिकामा प्रविण खतिवडा, सुब्रत आचार्य र महेश त्रिपाठीले पात्रलाई न्याय हुने गरे अभिनय गरेका छन् । बुद्धि तामाङ यो चलचित्रमा मान बहादुरको बोल्न नसक्ने चरित्रमा अभिनय गरेका छन् । विना संवाद पनि उनले दर्शकको मन कटक्क पर्ने गरि चित्त दुखाउन सफल छन् ।

बुहारी रुपालाई शिक्षिकाको पोशाक विछटटै सुवाएको छ । श्रीमान्लाई माया गर्ने, सासु ससुरालाई सम्मान गर्ने उनको स्वभावसँगै अमेरिका जाने अनि उतै छोरा छोरी जन्माउने घुसघुसे चरित्रले आजको समाजलाई देखाउन सफल बनेको छ । केकी अधिकारीको सहरिया बुहारीको रुप सुन्दर छ । आमा बनेकी पुजा चन्द लामाको अभिनय केही फरक पाइन्छ ।
चलचित्रले कलात्मक पक्षलाई पनि उत्तिकै जोड दिएको छ ।
प्रविधि
फेमली ड्रामाको जनरामा प्रस्तुत चलचित्रको कथावस्तुले भरपुर प्रविधिको माग गरेको छैन । त्यसैले चलचित्रमा भिएफएक्स र सम्पादनका जटिल विषय प्राथमिकतामा छैन । शिवम् श्रेष्ठले चलचित्रमा सुन्दर दृश्य राम्रो एंगलबाट खिचेका छन् । सुनिल क्षेत्रीले कलाकारहरुलाई राम्रो ढंगले नचाएको देख्न सकिन्छ ।
अन्तमा,
सबै मान्छे बुढो हुन्छ । बुढ्यौलीमा मान्छेसँगै फुर्सद नै फुर्सद हुन्छ । त्यो फुर्सदको क्षणमा अनगिन्ती पिडाले पछ्याउछन् । चलचित्र परानमा यस्तै पिडाले रुवाउछ । रुनमात्र चलचित्र के हेर्नु ? भन्ने नसोच्नुस् है चलचित्रमा गाँउघरका रमाइला धेरै दृश्य छन् । हसाउने क्षणहरु पनि भेटिन्छन् ।
चलचित्र परानले आधुनिक समाजले निम्त्याएको दुखद कथा भन्छ । आधुनिकतासँगै हामीले छुटाउदै गएको मौलिकतालाई सम्झाएको छ । नेपालीहरुले विर्सेको आफ्नोपनलाई मिठो ढंगलले प्रस्तुत गरिएको छ । चलचित्रले मनोरञ्जन मात्रै दिदैन, मिठो अनुभव र शिक्षा दिएको छ ।
कलाकारहरुको सुन्दर अभिनय शिल्पले चलचित्र परानलाई कालजयी चलचित्र बनाउन सघाएको छ ।








प्रतिक्रिया