२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘रमिताको पिरती’मार्फत अभिनेत्री आना शर्माको पुनरागमन



अभिनेत्री आना शर्मा चलचित्र ‘रमिताको पिरती’ लिएर दर्शकमाझ आउने भएकी छिन् । उनको मुख्य भूमिका रहेको चलचित्र ‘रमिताको पिरती’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । सुदिप्ताको निर्देशनमा तयार भएको यो फिल्म माघको २३ गतेबाट प्रर्दशनमा आउने पक्का भएको छ ।
आज ललितपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको फस्टलुक सार्वजनिक गरिएको हो । यो चलचित्रमा नायिका आना शर्मा मुख्य भूमिकामा छिन् । उनको साथमा चलचित्रमा नायकद्धय धिरज मगर र विनय श्रेष्ठलाई देख्न सकिन्छ । यही चलचित्रबाट गायक समीर श्रेष्ठ चलचित्रको पर्दामा नायकको रुपमा उदाउँदैछन् ।
महिला केन्द्रित यो चलचित्रको फस्टलुकमा नायिका आना शर्माका विभिन्न लुक्स देख्न सकिन्छ । फिल्ममा उनी ‘रमी’ पात्रको भूमिकामा छिन् । उनीसँग जोडिएका पात्र र उनको कथाको वरिपरी यो चलचित्र बनेको छ ।
आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको यो चलचित्रमा आर.पी प्रोडक्सन एसोसियट निर्माताको रुपमा छ । चलचित्रका निर्माता सागर लम्साल हुन् ।
चलचित्रमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ ।
शिशिर विशांखेको डीओपी रहेको चलचित्रमा सुनिल सिवाकोटीको सम्पादन, कपिल पराजुलीको कलर, कातिक बरालको कोरियोग्राफी छ ।
यो फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र एप्पल इन्टरटेन्मेन्टले वितरण गर्नेछन् भने काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा पुगेका चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले चलचित्रले केही फरक आयाम र कथा बोकेको भन्दै शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्दै नव–नायक समीर श्रेष्ठले आफू यो चलचित्रमा संगीतकारको रुपमा जोडिएको र कथावस्तु मन परेपछि काम गरेको सुनाए ।
यस्तै, नायिका आना शर्माले ४ वर्ष अगाडि नै यो कथा आफूले सुनेको र यसको कथावस्तु फरक लागेकाले जोडिएको सुनाइन् । उनले अहिले आफ्नो जीवनमा ‘रमिताको पिरती’ नै घुमिरहेको तर्क गर्दैै दर्शकलाई यो चलचित्रको कथावस्तु मनपर्ने तर्क गरिन् ।

 

प्रकाशित मिति : २० कार्तिक २०८२, बुधबार  ९ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।