२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘ऊनको स्वीटर’ अब भारतमा



काठमाडौं । नेपाली बक्स अफिसमा १२ करोड रुपैयाँभन्दा बढी व्यापार गर्दै ठूलो सफलता हासिल गरेको चर्चित नेपाली चलचित्र ‘ऊनको स्वीटर’ अब भारतमा रिलिज हुने भएको छ। आर्टमान्डूको निर्माणमा बनेको यस चलचित्रलाई भारतमा एसली प्रोडक्सनले वितरण गर्ने निर्णय गर्दै आधिकारिक वक्तव्य सार्वजनिक गरेको छ।

निर्देशक नवीन चौहानका अनुसार चलचित्र नोभेम्बर २१ देखि दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्स्याङ, कालिम्पोङ, आसाम र दिल्लीसहित हिमाली क्षेत्र तथा नेपाली भाषी समुदायका प्रमुख सहरहरूको सिनेमा हलमा पहिलो चरणमा प्रदर्शन हुनेछ।

सेन्सर बोर्डबाट क्लियर, प्रतिष्ठित हलहरूले स्क्रिन उपलब्ध गराए

भारतको चलचित्र प्रमाणीकरण बोर्ड (CBFC) ले हालै मात्रै सेन्सर पास गरेको ‘ऊनको स्वीटर’लाई दार्जिलिङस्थित एसभिएफ सिनेमा, कर्स्याङको कर्स्याङ फन्टाजी, सिक्किमको नाम्ची इम्पेरियल, गान्तोकका डेन्जोङ सिनेमा, वज्र सिनेमा, आईएनओएक्स गान्तोक, त्यस्तै सिलिगुडीका आईएनओएक्स सिटी सेन्टर, आईएनओएक्स वेगा सर्कल, आईएनओएक्स एग्रोपोलिस, साउथ सिटी सिलिगुडी लगायतका प्रतिष्ठित हलहरूले स्क्रिन प्रदान गरिसकेका छन्।

हिमाली क्षेत्रका नेपाली भाषी तथा नेपाली समुदाय नजिक रहेका भारतीय दर्शकलाई लक्षित गर्दै यी स्थानहरूलाई प्राथमिकतापूर्वक चयन गरिएको बताइएको छ।

भारत प्रिमियर नोभेम्बर २० मा सिक्किममा

सिनेमाको भारत प्रिमियर नोभेम्बर २०, अर्थात् रिलिजको एक दिनअघि सिक्किममा आयोजना हुनेछ। प्रिमियरमा नेपालबाट कलाकार विपिन कार्की, एलेक्स पारस, निर्देशक नवीन चौहान, गायक सुजन चापागाईँ तथा अन्य टोलीका सदस्यहरू सहभागी हुने छन्। साथै सिक्किमका राज्यस्तरीय व्यक्तित्व तथा स्थानीय नेपाली कलाकारहरूको पनि उपस्थिति रहनेछ।

नेपालमा ५१ दिनसम्म प्रदर्शन, वर्षकै चर्चित

चलचित्र वैशाख २६ मा नेपालमा प्रदर्शनमा आएको थियो। देशभरका करिब ४० सिनेमा हलमा ५१ दिनसम्म सफलतापूर्वक चल्दै ‘ऊनको स्वीटर’ वर्षकै चर्चित तथा सफल फिल्ममध्ये एक बनेको थियो।

चौहानको लेखन तथा निर्देशन रहेको यस फिल्मले नेपाली समाजका यथार्थ भावनाहरू, मौलिक कथा, सशक्त अभिनय र मन छोने सङ्गीतका कारण दर्शक तथा समीक्षक दुवैबाट प्रशंसा पाएको छ।

चलचित्रमा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर, सुनिल पोखरेल लगायतका कलाकारहरूको प्रभावकारी अभिनय छ। गीत सुजन चापागाईँ र सङ्गीत कोविद बज्रले दिएका छन्।

भारतमा पनि प्रभाव पार्ने विश्वास

भारत रिलिजबारे एसली प्रोडक्सनले जारी गरेको वक्तव्यमा ‘ऊनको स्वीटर’ले नेपालमा जस्तै भारतमा पनि दर्शकमाथि गहिरो प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ। नेपाली कथा वाचन, सांस्कृतिक भावनाले भरिएको यस फिल्मले भारतीय नेपाली भाषी क्षेत्रका दर्शक मात्र नभई मौलिक कथा खोज्ने व्यापक भारतीय दर्शक समुदायलाई पनि आकर्षित गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शुक्रबार  १ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।