२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा दमकल सेवाको क्षमता बढाइँदै, दुई अत्याधुनिक दमकल खरिद हुँदै



ललितपुर । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले नगरवासीको सुरक्षा, दैनिक जीवनस्तर सुधार र आम्दानी सृजनालाई महानगरको मुख्य दायित्व रहेको बताएका छन्। आइतबार आयोजित कार्यक्रममार्फत उनले हाल महानगरले पुर्‍याइरहेको सेवा, चुनौती र आगामी योजनाबारे जानकारी दिए।

महर्जनका अनुसार जेनजी आन्दोलनका समयमा ललितपुरको दमकल सेवा केवल आफ्नै क्षेत्रमै सीमित नरही काठमाडौंका महत्त्वपूर्ण स्थानहरूमा पनि सक्रिय रूपमा प्रयोग गरिएको थियो।
उनले भने, “सिंहदरबार, सर्वोच्च अदालत, हिल्टन होटलदेखि संसद् भवनसम्म ७९ पटक आगो निभाउने काममा हाम्रो दमकल पुगेको छ। हाम्रो फम प्रणालीले आगो छिटो नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ।”

आन्दोलनका दौरान दमकल रोकिएको, बाधा पुर्‍याइएको र केहीमा आगजनीसम्म भएको घटनालाई उल्लेख गर्दै महर्जनले सेवा अवरुद्ध हुन नदिन भविष्यमा थप बलियो संरचना आवश्यक भएको बताए। यसका लागि महानगरले अत्याधुनिक प्राविधिक सुविधा सम्पन्न दुईवटा नयाँ दमकल खरिद गर्ने निर्णय गरेको उनले जानकारी दिए।

त्यस्तै, अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रयोग गरिने केही सवारीसाधनमा समेत आन्दोलनका क्रममा आगजनी भएको उल्लेख गर्दै उनले अब आउने नयाँ गाडीहरू बढी सुरक्षित र अत्याधुनिक हुने बताए।

महर्जनले अन्त्यमा सुरक्षा, राहत सेवा र नागरिकमैत्री प्रणाली विस्तारमा महानगर निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : १ मंसिर २०८२, आइतबार  १ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।