ललितपुर । जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनीले क्षतिग्रस्त बनेको ललितपुरको बाँडेगाउँस्थित प्रहरी प्रभाग पुनर्निर्माण गर्न गोदावरी नगरपालिकाले बजेट छुट्याएको छ।
पुरानो भवनको इट्टासमेत खस्न थालेपछि कार्यालय पूर्ण रूपमा भत्काई नयाँ भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो। गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनका अनुसार नगरपालिकाको तर्फबाट १५ लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै वडा नम्बर १४ ले ८ लाख, र वडा नम्बर १, २, ३ र ४ ले जनही ३–३ लाख रुपैयाँ छुट्टाएका छन्। अहिलेसम्म कुल ३३ लाख रुपैयाँ प्रहरी कार्यालयको पुनर्निर्माणका लागि उपलब्ध भएको छ।
प्रहरी निरीक्षकले नेतृत्व गर्ने बाँडेगाउँ प्रहरी प्रभाग गोदावरी–१४ मा अवस्थित छ। भवन निर्माणको नक्सा तयार भइसकेको र वडा नम्बर १४ का अध्यक्ष नीरज बज्राचार्यको अध्यक्षतामा निर्माण समिति गठन गरिएको गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारीले जानकारी दिइन्।
उक्त रकमबाट दुई तले कार्यालय भवन र मेस निर्माण गरिने योजना छ। जेन–जी आन्दोलनका क्रममा भएको आगजनीले भवन गम्भीर रूपमा क्षतिग्रस्त भएपछि प्रहरी सेवामा अवरोध सिर्जना भएको थियो। पुनर्निर्माण सुरु भएपछि स्थानीयले सुरक्षित र नियमित प्रहरी सेवा शीघ्र सुचारु हुने अपेक्षा गरेका छन्।








प्रतिक्रिया