काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले लगातार मोटरसाइकल चोरी गर्ने समूहका तीन सदस्यलाई पक्राउ गरी सार्वजनिक गरेको छ। उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी हुँदै आएको सूचनाका आधारमा विशिष्ट अपरेशनमार्फत उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा मकवानपुर घर भई ललितपुर बस्ने २० वर्षीय प्रशान्त खत्री, मकवानपुरकै २७ वर्षीय समीर रुम्बा र २७ वर्षीय निमा रुम्बा रहेका छन्। उनीहरूलाई सुक्ष्म निगरानीपछि क्रमशः तारकेश्वर नगरपालिकाको पुरानो गुह्येश्वरी क्षेत्र र कीर्तिपुरबाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
प्रहरीका अनुसार पक्राउ परेका युवाहरूले उपत्यकाका विभिन्न स्थानमा पार्किङ गरिएका मोटरसाइकल चोरी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यस घटनापछि ट्राफिक प्रहरीले सवारीसाधन सुरक्षित राख्न सबैलाई सतर्क रहन आग्रह गरेको छ। प्रहरीले सवारी पार्किङ गर्दा ‘ह्विल लक’, ‘चेनलक’, ‘ह्यान्डिल लक’, ‘डिस्क लक’ तथा सुरक्षा साइरनजस्ता उपकरण जडान गर्न, एकान्त र कम भीडभाड हुने स्थानमा सवारी नराख्न सुझाव दिएको छ।
यदि सवारीसाधन हराएमा तत्काल ट्राफिक प्रहरीको हटलाइन १०३ वा नेपाल प्रहरीको १०० नम्बरमा सम्पर्क गरी आवश्यक विवरण दिन तथा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने कार्यालयले जनाएको छ।








प्रतिक्रिया