काठमाडौँ । बागमती नदीको गुह्येश्वरी–गोकर्णेश्वर मन्दिर खण्डको नदी किनारमा लामो समयदेखि अलपत्र अवस्थामा छाडिएका सवारी साधन हटाउने काम मंगलबारबाट औपचारिक रूपमा सुरु गरिएको छ। गोकर्णेश्वर नगरपालिका–५ जम्मुडाँडास्थित प्रहरी चौकी नजिक रहेका सवारी साधनलाई पहिलो चरणमा हटाइएकाले नदी किनार सफाइ अभियानले गति पाएको छ।
गत शनिवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेका कुलमान घिसिङले बागमती करिडोर क्षेत्रको स्थलगत निरीक्षण गर्दै नदी सफाइ तथा किनार व्यवस्थापनलाई प्राथमिकता दिन निर्देशन दिएका थिए। मन्त्री घिसिङले बेवारिसे सवारी साधन तत्काल हटाउन तथा ढल व्यवस्थापन सुधार गर्न सम्बद्ध निकायलाई कडा निर्देशन दिएका थिए।
जम्मुडाँडा क्षेत्रमा करिब १२० मिटर लामो ढल जाम भएर बागमती नदीमा सिधै ढल मिसिने समस्या देखिएको थियो। ढल फूटेर सडकमा समेत क्षति पुगेपछि मर्मत कार्य पनि सुरु गरिएको गोकर्णेश्वर नगरपालिकाले जनाएको छ।
यससँगै गुह्येश्वरी क्षेत्रदेखि माथिल्लो तटीय क्षेत्रमा थुप्रिएको बालुवा, फोहोर र अन्य अवशेष समेत हटाउने तयारी भइरहेको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सफाइ तथा व्यवस्थापनका लागि आवश्यक योजना र जनशक्ति परिचालनको प्रक्रिया अघि बढाइसकेको छ।
सवारी साधन हटाउने, ढल मर्मत गर्ने र नदी किनार सफाइसँगै बागमती नदी पुनर्जीवनका लागि स्थानीय निकाय, मन्त्रालय र समितिबीच समन्वयमा काम अघि बढाइएको छ।








प्रतिक्रिया