२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


उपत्यकाका आधाभन्दा बढी ट्राफिक लाइट बिग्रिए



काठमाडौं । उपत्यकामा बढ्दो सवारी चाप सहज बनाउन जडान गरिएका ट्राफिक लाइटमध्ये झन्डै आधा बिग्रिएपछि फेरि ट्राफिक व्यवस्थापन जनशक्तिमै निर्भर हुनुपर्ने स्थिति सिर्जना भएको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको सचिवालयका अनुसार उपत्यकाका ५४ स्थानमा ट्राफिक लाइट जडान गरिए पनि हाल २५ स्थानमा लाइटले काम गर्न छाडेका छन्। कार्यरत लाइट मात्र २९ स्थानमा रहेको सचिवालयले जनाएको छ।

उपत्यकामा वर्षौंदेखि जटिल बन्दै गएको ट्राफिक जाम कम गर्न ‘स्मार्ट ट्राफिक सिस्टम’ का रूपमा यी लाइट जडान गरिएको थियो। तर समयमै मर्मत–सम्भार नहुँदा उनीहरूको प्रभावकारिता कमजोर बन्दै गएको छ।

मुख्य चोकका ट्राफिक लाइट बन्द

बिग्रिएको ट्राफिक लाइट भएको स्थानका रूपमा सचिवालयले त्रिपुरेश्वर, जय नेपाल (नाग पोखरी), परोपकार २, पद्मोदय १ र २, ठिमी, भाटभटेनी (राधेराधे), त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, कमलपोखरी, टुकुचा, नागस्थान, टेकु, केशरमल, दरबारमार्ग, सिभिल हस्पिटल, जडिबुटी, सल्लाघारी, कालीमाटी २ लगायतका व्यस्त चोकहरू उल्लेख गरेको छ। यस्तै उपत्यकाको अत्यन्त व्यस्त चोक मानिने पुतलीसडकमा ‘रेड लाइट’ नै काम नगरेको बताइएको छ।

दैनिक यात्रु र चालकलाई सास्ती

जडान भएका प्रविधि समयमै मर्मत नहुँदा सवारी चालक र दैनिक यात्रुहरूले ट्राफिक जाम र अव्यवस्थित सडक पार गर्नुपर्ने समस्यालाई झेल्नु परेको छ।

ट्राफिक लाइट विफल हुँदा चोकमा बारम्बार अगाडि बढ्ने–रुक्ने क्रममा दुर्घटना जोखिम पनि बढेको भन्दै यात्रुहरूले चाँडो समाधानको माग गरिरहेका छन्।

मन्त्री घिसिङको सचिवालयले बिग्रिएको लाइट मर्मतका लागि आवश्यक प्रक्रिया अघि बढाइने प्रतिक्रिया दिएको छ।

 

प्रकाशित मिति : ५ मंसिर २०८२, बिहिबार  ५ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।