१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘सारंगी’ निर्देशक सरोज पौडेलको नयाँ चलचित्र’सिन्दुरे जात्रा’ घोषणा



काठमाडौं । ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारंगी’ का निर्देशक सरोज पौडेलले आफ्नो नयाँ फिल्म ‘सिन्दुरे जात्रा’ को घोषणा गरेका छन्। निर्देशक पौडेलले ‘टाइटल अनाउन्समेन्ट’ भिडिओ सार्वजनिक गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरेका हुन्। सार्वजनिक २६ सेकेन्डको भिडिओमा केवल फिल्मको शीर्षक देखाइएको छ। पृष्ठभूमिमा सिन्दुरे जात्राको मन्त्रोचारण जस्तो आवाज सुनिए पनि शब्दहरू स्पष्ट बुझ्न सकिँदैन।

फिल्मको कथा निर्देशक पौडेलले स्वयं लेखेका हुन्। नुवाकोटको प्रसिद्ध ऐतिहासिक पर्व ‘सिन्दुरे जात्रा’ को नाममा फिल्मको शीर्षक राखिए पनि कथावस्तु सोही जात्रामा आधारित हुने वा नहुने भन्ने विषयमा उनले खुलाएका छैनन्।

फिल्म ‘सारंगी फिल्म्स’ को प्रस्तुति रहनेछ। निर्माताको रूपमा प्रभाकर श्रेष्ठ छन् भने वितरण आरआर फिल्म्स मार्फत हुनेछ। डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल जोडिएको छ।

निर्देशक पौडेलले अभिनय गर्ने कलाकारहरू र प्रदर्शन मिति भने केही समयपछि मात्र सार्वजनिक गरिने जानकारी दिएका छन्। यसअघि पौडेलको लेखन तथा निर्देशन रहेको फिल्म ‘कोशेढुंगा’ केही महिनाअघि प्रदर्शनमा आएको थियो। उक्त फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको भए पनि अपेक्षित व्यापार गर्न सकेको थिएन।

प्रकाशित मिति : १३ मंसिर २०८२, शुक्रबार  ३ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।